कांग्रेस सांसदको प्रश्न- 'थारुहरूको भावनामाथि दमन किन ?'
2023/02/05, 1:40
 
wqrerew

 नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले जातिय आधारमा सरकारले थारुहरूको भावनामाथि दमन गरिरहेको भन्दै प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै सांसद चौधरीले टिकापुर घटनामा दोषी ठहरिएका थारुहरूको रिहाइको माग गरे ।

‘थारुहरूको भावनामाथि सरकारले किन दमन गरिरहेको छ ? टिकापुर घटना नेपालमा राजनीतिक आन्दोलनका घटनाहरूमध्ये त्यस्तो ठूलो घटना होइन,’ उनले भने, ‘हामीले थुप्रै घटनाहरु देखेका छौँ, बसमा गुडिरहेका ५० औं यात्रीलाई बमले उडाइएको छ । त्यस्तो घटनामा दोषीले उन्मुक्ति पाउने, अनि थारुहरूले आफ्नो पहिचानको लागि संघर्ष गर्दा उनीहरूलाई दमन गर्ने र जेलमा थुन्ने गरिएको छ, यो न्यायसंगत भएन ।’

टिकापुर घटनामा आधारित भएर सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी स्थापना भइ स्थानीय जनताबाट मनादेशसमेत पाइसकेको अवस्थामा सरकारले टिकापुर घटनामा अभियुक्तहरूमाथि लगाइएको अभियोग फिर्ता हुनुपर्ने माग हुँदै आएको छ । नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले संसद्‌मै यस्तो माग गर्दै आएका छन् भने अन्य दलका सांसदहरूले पनि यो विषयमा आवाज उठाउन थालेका छन् ।