विश्वासको वातावरण बनाउन मुख्यमन्त्री रावल काठमाडौँमा, २५ गते विश्वासको मतको तयारी
2023/02/06, 1:48
 
ss

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावल काठमाडौंमा छन्।  रावल विश्वासको मत लिने वातावरण मिलाउन संघीय राजधानी काठमाडौं गएका हुन्। मुख्यमन्त्री रावलले मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिन अर्थात् यही माघ २६ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

त्यसकारण उनी विश्वासको मत लिने समय नजिकिँदै गर्दा राजधानी पुगेका हुन्। उनीनिकट स्रोतका अनुसार यही साता उनले विश्वासको मत लिनेछ्न्। यसअघि पनि विश्वासको मतका लागि वातावरण बनाउन आग्रह गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुलाई भेटेका रावलले फेरि शीर्ष नेताहरूसँग भेट गरिरहेको बताइएको छ।

सुदूरपश्चिममा उनलाई एउटा मात्र पार्टी नागरिक उन्मुक्तिले अड्चन गरिरहेको छ। मुख्यमन्त्री नियुक्त हुँदा समर्थन गरेको नागरिक उन्मुक्तिले विश्वासको मत दिने कुरामा अझै निर्णय गरिनसकेको हुनाले उनलाई सकस थपिएको हो।  सत्ता गठबन्धनमा साझेदार रहेको दल नागरिक उन्मुक्तिले विश्वासको मत दिनेरनदिनेबारे अहिलेसम्म पनि आधिकारिक टुंगो लगाएको छैन।

नागरिक उन्मुक्तिका प्रतिनिधिसभा सदस्य गङ्गाराम चौधरीले  छ्लफल जारी रहेको जानकारी दिए। उनका अनुसार निर्णय हुन केही दिन कुर्नु पर्नेछ।  यता, सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारीले भने सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले २५ गते विश्वासको मत लिने तयारी थालेको बताएका छन्।