डिसहोम मार्फत रिलीज ‘कोपिला’
2020/05/12, 4:51
 

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण गरिएको बताइएको फिल्म ‘कोपिला’ डिसहोम मार्फत रिलीज भएको छ । कोरोना भाईरसका कारण फिल्म हलहरु ठप्प भएपछि यतिबेला फिल्महरु रिलीज भएका छैनन् । हलमा रिलीज नभएपनि डिसहोम मार्फत यो फिल्म रिलीज भएको छ । 

बैशाख ३० गतेबाट च्यानल नम्बर १०८ मार्फत हेर्न सकिने उक्त फिल्म दैनिक ८ शो प्रदर्शन हुन लागेको बताइएको छ । फिल्मले यसअघि हेटौडामा भएको बिशेष शो मार्फत आएको रकमबाट स्व. निर्मला पन्तको परिबारलाई ५० हजार सहयोग समेत गरीसकेको निर्माता मणिराज गौतमले बताए । साथै फिल्म प्रर्दशनबाट आएको रकमबाट दश प्रतिशत स्व. पन्तको परिवारलाई प्रदान गरिने उनले बताए ।

गणेश गिरिको प्रस्तुति रहेको कोपिलालाई संचारकर्मी मणिराज गौतमले निर्माण गरेका हुन् भने चलचित्रको कार्यकारी निर्मातामा सुवास काफ्ले तथा निर्मातामा समिर मिया र रामेश्वर कार्की समेत रहेका छन् । फिल्ममा रामेश्वर कार्कीको छांयाकन, समिर मियाको सम्पादन र दीपक शर्माको संगीत रहेको छ ।

चलचित्रमा सरिता गिरी, गणेश गिरी र सन्जिवनी खरेलसँगै प्रकृति खरेल, ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, राखी क्षेत्री लगायतको अभिनय रहेको छ ।