एसटीएस सिनेमामा भोलि समलिङ्गीको कथामा आधारित चलचित्र निःशुल्क हेर्न पाइने 
2023/02/20, 5:09
 
एसटीएस सिनेमामा भोलि समलिङ्गीको कथामा आधारित चलचित्र निःशुल्क हेर्न पाइने 

धनगढीको एसटीएस सिनेमा घरमा भोलि समलिङ्गीको कथामा आधारित चलचित्र प्रदर्शन गरिने भएको छ । पहिलो संविधान सभा सदस्य समेत रहेका सुनिल बाबु पन्तको निर्देशन तथा उहाँकै व्यक्तिगत लगानीमा निर्माण भएको नीलो फूल लघु चलचित्र निःशुल्क प्रदर्शन गरिने भएको हो । भोलि दिउसो १ः३० बजे चलचित्र प्रदर्शन हुने निल हीरा समाज अर्थात् ब्लुडाइमण्ड सोसाइटीले जानकारी दिएको छ । 

निर्देशक पन्तले यौनिक अल्पसङ्ख्यक समुदायको सङ्घर्षका बारेमा लघु चलचित्र निर्माण गरिएको बताए ।   चलचित्रमा गाउँको समलिङ्गी पात्रको कथा समेटिएको पन्तले बताए । उसलाई जबरजस्ती महिलासंग  बिहे गर्न लगाएर सन्तान प्राप्ति नहुँदा भोग्नुपरेको सङ्घर्ष कथामा समेटिएको पन्तको भनाई छ । राज्यले समेत यौनिक अल्पसङ्ख्यकका  समस्या सम्बोधनमा चासो नदिएको भन्दै आफूहरूका समस्या सम्बोधनमा सरकारको ध्यानाकर्षण गराउन चलचित्रले भूमिका खेल्ने ब्लु डाइमण्ड सोसाइटीले विश्वास लिएको छ ।

यो लघु चलचित्र यस अघि काठमाडौँ, नेपालगन्ज, विराटनगर र बुटवलमा प्रदर्शन भइसकेको छ । चलचित्रमा सागर घिमिरे, उर्मीला कार्की, घनश्याम जोशी, विमला गिरीलगायतका कलाकारको भूमिका रहेको छ । सामाजिक मुद्दाको नयाँ विषय हुनाले सबैलाई चासोको विषय बनेको निर्देशक पन्तले बताए ।