‘सामाजिक विकास मन्त्रालयका एम्बुलेन्स खरिदमा मिलोमतो गरी व्यापक भष्ट्राचार’ (भिडियो सहित)
2020/06/30, 2:12
 
ambulence

सुदुरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले किनेका एम्बुलेन्समा सबैको मिलोमतोमा व्यापक भष्ट्राचार भएको ठहर गरिएको छ । प्रदेशको सार्वजनिक लेखा समिति अन्तर्गतको एम्बुलेन्स छानविन उप समितिले आफ्नो प्रतिवेदनमा सवैको मिलोमतोमा भष्ट्राचार भएको निष्कर्ष निकालेको हो । सार्वजनिक लेखा समितिकी सभापति तथा छानविन उपसमितिकी संयोजक कुमारी नन्दा बमले मन्त्रालयका एम्बुलेन्स खरिदामा ठुलै रकमी चलखेल भएको बताएकी छिन् ।

टेण्डरको स्पेफिकेशसन बनाउनेदेखि भुक्तानी दिदासम्म गरिएका दुई दर्जन गम्भीर गल्ती र त्रुटीहरुले भष्ट्राचारको ठहर भएको उनको भनाई छ । खबरकुञ्जसँग कुराकानी गर्दै उनले भष्ट्राचारमा संग्लन सवैको विषयमा सुरुदेखि अन्त्यसम्म छानविन हुनुपर्नेमा जोड दिईन् । 

सुदुरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समिति अन्तर्गतको छानविन उपसमितिले एम्बुलेन्स खरिदमा अनियमितता भएको ठहर गरेको हो । समितिले तयार पारेको प्रतिवेदनमा सामाजिक विकास मन्त्रालयले खरिद गरेका एम्बुलेन्स खरिद प्रक्रियाहरु गम्भीर त्रुटी भएको भन्दै मिलोमतो भएको उल्लेख गरिएका छ । गत चैत ८ गते वसेको सार्वजनिक लेखा समितिको निर्णय अनुसार गठन गरिएको छानविन उप सिमितले एम्बुलेन्स खरिद प्रक्रियाहरुको तीन महिना लगाएर गरेको अध्ययन अनुसन्धानमा त्रुटी नै त्रुटी गरेर मिलोमतो भएको छ । सार्वजनिक लेखा समितिकी सभापति नन्दाकुमारी बमको संयोजक रहने गरी प्रदेश सभा सदस्यहरु कर्ण मल्ल, चुनकुमारी चौधरी, मनाकुमारी साउँद र अर्चना गहतराज सदस्य रहेको छानविन उपसिमितिले आफ्नो उपसमितिमा छलफल गर्दै प्रतवेदन सार्वजनिक लेखा समितिमा प्रस्तुत गरिएको हो ।