नवजीवन सहकारीले भन्यो,‘ढुक्कसँग कारोबार गर्नुहोस्’  
2023/02/21, 9:45
 
ss

नेपाल राष्ट्र बैङ्कबाट बैङ्किङ कारोबारको अनुमति पाएको नेपालकै पहिलो सहकारी संस्था नवजीवन सहकारी संस्था लिमिटेडले आफ्ना ग्राहक र शेयर सदस्यहरूलाई ढुक्क भएर कारोबार गर्न अनुरोध गरेको छ ।

वित्तीय संस्थाहरू ओरालो लागिरहेका बेला सहकारीले मंगलबार प्रधान कार्यालय धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ग्राहक र शेयर सदस्यहरूको रकम सुरक्षित भएकाले ढुक्कसँग कारोबार गर्न अनुरोध गरेको हो । सहकारीका अध्यक्ष देवबहादुर बमले सहकारीले सुरक्षित स्थानमा मात्रै लगानी गरेका कारण आफ्ना ग्राहक र शेयर सदस्यहरूको निक्षेप सुरक्षित रहेको बताए ।

सहकारीसँग अहिले नगद एक अर्ब रुपैयाँ रहेको बताउँदै आफ्ना ग्राहक र शेयर सदस्यहरूलाई ढुक्कसँग कारोबार गर्न अध्यक्ष बमले आग्रह गरे । अन्य सहकारी भन्दा नवजीवन सहकारी भिन्न रहेको र पदाधिकारीहरूले संस्थाबाट कुनै पनि प्रकारको ऋण सुविधा नपाउने भएका कारण सहकारीका पदाधिकारीहरूले रकम हिनामिना गर्ने सम्भावना नरहेको अध्यक्ष बमले बताए ।

३१ हजार ५८९ शेयर सदस्य रहेको सहकारीले अहिले विभिन्न १० शाखाबाट कारोबार गरिरहेको बताउँदै अध्यक्ष बमले सबै शाखाबाट सन्तोषजनक कारोबार भइरहेको बताए । यस्तै नवजीवन सहकारीसँग शेयर पुँजी २७ करोड ७५ लाख २७ लाख, जगेडा कोष ३५ करोड १३ लाख ३५ हजार, अन्य कोषहरू २३ करोड २१ लाख ९२ हजार गरि जम्मा ५८ करोड ३५ लाख २७ हजार रुपैयाँ छ ।

९२ करोड ६९ लाख ९६ हजार बढी नगद तथा बैङ्क मौज्दात भएको सहकारीको कुल सम्पत्ति ६ अर्ब ३४ करोड ४ लाख ९ लाख ९९ हजार रुपैयाँ छ । संस्थाले लघुवित्त कार्यक्रम अन्तर्गत १६ लाख ४८ हजार रुपैयाँ बचत गरेको छ भने ४ करोड ४९ लाख ६० हजार रुपैयाँ ऋण लगानी गरेको छ । यस कार्यक्रम अन्तर्गत १ लाख ११ हजार रुपैयाँ मुनाफा पाएको छ ।

यस्तै संस्थाले कृषि उपज सङ्कलन उपआयोजना अन्तर्गत १ करोड २२ लाख बढीको ४ हजार ८८२ क्विन्टल धान खरिद खरिद गरेको जनाएको छ । धनगढीमा केन्द्रीय कार्यालय रहेको सहकारीका कैलाली, कञ्चनपुर र बर्दिया गरि १० वटा सेवा केन्द्र छन् । कैलालीमा धनगढी, राजपुर, टीकापुर, अत्तरिया, सुखड, जोशीपुर, चौमाला, हसुलियामा सेवा कार्यालय छन् । यस्तै कञ्चनपुरमा पुनर्वास नगरपालिकाको आईबीआरडी र बर्दियामा बाँसगढीमा सेवा केन्द्र सञ्चालनमा छन् ।