सुदूरपश्चिममा एम्बुलेन्स खरिद प्रकरणः स्पेसिफिकेशन चलखेल गरेर अनियमितता (भिडियो सहित)
2020/06/30, 3:07
 
ambulence

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले १६ वटा एम्बुलेन्स खरिदमा दुई दर्जन बढी त्रुटी रहेको पाईएको छ । मन्त्रालयले एम्बुलेन्स खरिदको निर्णयपछि खरिद र भुक्तानी गर्दासम्म जता पनि नियम मिचेर त्रुटी नै त्रुटी गरेको पाईएको हो । टाटा कम्पनीका मिनि ट्रक खरिद गरी एम्बुलेन्स वितरण गरेको मन्त्रालयले खरिद प्रक्रियामा गरेको गल्ती ढाकछोप गर्न भुक्तानी गर्दा समेत त्रुटी गरेको छ ।

सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समिति अन्तर्गतको छानविन उपसमितिले समेत एम्बुलेन्स खरिदमा अनियमितता भएको ठहर गरेको छ । समितिले तयार पारेको प्रतिवेदनमा सामजिक विकास मन्त्रालयले एम्बुलेन्स खरिद प्रक्रियामा गम्भीर त्रुटी गरेको उल्लेख छ । छानविन प्रतिवेदनमा ईच्छाएको टाटा कम्पनीलाई दिनका लागि सोही आधारमा स्पेसिफिकेशन तयार पारिएको भेटिएको छ । 

सामाजिक विकास मन्त्रालयले एम्बुलेन्स खरिदको निर्णयपछि ईन्जिनियर समेत रहेका मन्त्रालयका तत्कालीन सचिव गोगन वहादुर हमाल र हेभी ईक्युभमेन्ट डिभिजन कार्यालय गोदावरी मातहतको यान्त्रिक कार्यालय बुडरका प्रमुख विजय शाहले स्पेसिफिकेशन अर्थात विस्तृत विवरण तयार पार्ने जिम्मा पाए । स्पेसिफिकेशनमा गाडीको मोडेल लगायतका सम्पूर्ण विवरण उल्लेख गरिएको हुन्छ । स्पेसिफिकेसनकै आधारमा बोलपत्र आह्वान गरी खरिद प्रक्रिया सुरु हुने गरेको छ । स्पेसिफिकेशननै आर्थिक चलखेलका आधारमा तयार पारिएको प्रमाणहरु सार्वजनिक लेखा समितिले पनि हात पारेको छ ।

टाटालाई फाईदा पुग्ने गरी स्पेसिफिकेसन तयारी गरी बोलपत्र आह्वान गरेको, एउटा एम्बुलेन्सको दुई वटा मितिमा दुई पटक प्राविधिक प्रतिवेदन तयार गर्न लगाएर अख्तियारको दुरुपयोग गरेको, एम्बुलेन्सकै स्पेसिफिकेसन तयार पार्ने मेकानिकल ईन्जिनियरद्धारा नै मेसिन उपकरणहरुको जाँचपास गरेको सार्वजनिक लेखा समितिको छानविन उप–समितिले निष्कर्ष निकालेको छ । स्पेसिफिकेसनको जिम्मा पाएका शाहले सुदूरपश्चिमका अन्य मन्त्रालयको गाडी खरिद गर्दा समेत सोही जिम्मेवारी पाएका थिए । उनले तयार पारेका सबै स्पेसिफिकेसनमा टाटा कम्पनीको गाडीलाई नै रोजेका छन् ।

समाचार स्रोतले भन्यो– ‘यान्त्रिक कार्यालयका ईन्जिनियरको टाटा कम्पनीका कर्मचारीसँग साटघाट छ । कमिसनको चलखेलका कारण उनले सोही कम्पनीका गाडी खरिद गर्न स्पेसिफिकेसन तयार पार्दै आएका छन ।’ यद्यपी शाहले भने स्पेसिफिकेसन गर्दा कुनै पनि किसिमको कमजोरी नभएको दावी गरे । उनले भने– ‘पहाडी जिल्लाका लागि उपयुक्त गाडी नै खरिद गर्न विस्तृत विवरण तयार पारेका थियौँ । त्यस्मा कुनै पनि किसिमको कमजोरी भएको छैन ।’