ताक्लाकोट सडक निर्माणको जिम्मा सेनालाई दिन माग
2023/02/23, 6:12
 
ss

सुदूरपश्चिमको विकासको मूल ढोकाका रुपमा परिचित बझाङको ताक्लाकोट सडकखण्डको निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिन साइपाल गाउँपालिकाका जनप्रतिनिधिले सङ्घीय सरकारसँग माग गरेका छन ।

निर्माण व्यवसायीबाट काम गर्दा ढिलो हुने गरेको भन्दै सेनाको जिम्मा दिन साइपालका जनप्रतिनिधिले माग गरेका हुन । दक्षिणको भारत र सुदूरपश्चिम प्रदेशको त्रिदेशीय नाका जोड्ने यस सडकखण्डलाई बझाङका साथै प्रदेशकै विकासको मेरुदण्डका रुपमा लिइएको भए तापनि सडक निर्माणको कामले तीव्रता पाउन सकेको छैन ।

कठिन चट्टानी भिरपाखा फुटाउन मेसिनरी साधन भरिपूर्ण भएको नेपाली सेनालाई ताक्लाकोट सडकखण्ड निर्माण गर्ने जिम्मा दिनुपर्ने गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले बताए । सेनाले छोटो समयमै त्यस क्षेत्रको काम सम्पन्न गर्नसक्ने आँकलन भएको जनप्रतिनिधिको निष्कर्ष रहेको अध्यक्ष बोहोराको भनाइ छ ।

निर्माण व्यवसायीको जिम्मा दिँदा यही गतिमा हुने हो भने यो काम गर्न अझै १० वर्ष लाग्नसक्ने उनको भनाइ छ । निर्माण व्यवसायी र सेनाको काममा निकै भिन्नता रहेको जनप्रतिनिधिको ठम्याइँ छ ।

सङ्घीय सरकारले प्रत्येक वर्ष बजेट छुट्याएर सुस्त गतिमा काम भयो भन्नुभन्दा तत्काल नेपाली सेनाको जिम्मा लगाउनु उचित रहेको अध्यक्ष बोहराले बताए । । प्रतिनिधिसभा सदस्य भानुभक्त जोशीले यस वर्ष सडक निर्माणको कामले गति नलिएको बताए ।

कामलाई छिटोछरितो अगाडि बढाउन निर्माण कम्पनीलाई पनि निर्देशन दिइएको उनकोे भनाइ छ । गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले केही दिन अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीसँंग आफूले भेटका क्रममा ताक्लाकोट सडकखण्डको काम गर्ने जिम्मा सेनालाई दिनुपर्ने माग गरेको बताए ।

सदरमुकाम चैनपुरबाट उत्तरीखण्डमा निर्माण भइरहेको यो सडक छिटो निर्माण गर्न यस क्षेत्रका बासिन्दाको चाहना भए पनि सडक निर्माणको ठेक्का लिएका निर्माण कम्पनीको लापरबाहीका कारण काम ढिला भएको स्थानीयले बताएका छन् ।

रूपातोलादेखि साइपालको धुलीसम्म सडक निर्माणको जिम्मा लिएको नागार्जुन जेभी कम्पनीको काम झन सुस्त देखिएको छ । रुपातोलाबाट धुलीसम्म नागार्जुन निर्माण सेवाले विसं २०७४ मङ्सिरमा काम सुरु गरेको थियो ।