कैलालीमा २ अर्ब ६४ करोड खर्चेर यस्तो बन्दैछ केबलकार र होटल
2023/02/25, 10:56
 
dd

सुदूरपश्चिममा पहिलो पटक केबलकार सञ्चालनमा आउँदैछ। कैलालीको चिसापानीदेखि राजकाँडा जोड्न जालपादेवी केबलकार निर्माण हुने भएको छ। कैलालीको मोहन्याल गाउँपालिका र लम्किचुहा नगरपालिकामा केबलकारसहित होटल बन्ने भएको हो।

 जालपादेवी केबलकार परियोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार पारिएको छ। आयोजनाले तयार पारेको रिपोर्ट स्वीकृतिका लागि रायसुझाव माग गरिएको छ। केबलकारको माथिल्लो स्टेसन मोहन्याल गाउँपालिका वडा नम्बर ७ मा पर्ने छ भने तल्लो स्टेसन लम्की चुहा नगरपालिको वडा नम्बर ३ मा पर्ने छ।

केबलकारको लम्बाई ३ दशमलब १ किलोमिटर हुनेछ। केबलकारमा कुल ३४ वटा बक्स सञ्चालन हुनेछन्। प्रति बक्स यात्रु क्षमता ८ जनाको हुने कम्पनीले जनाएको छ। केबलकारले प्रतिदिन ६ हजार यात्रुलाई सेवा दिन सक्नेछ। केबलकारको स्पिड प्रति सेकेन्ड ६ मिटरको हुने कम्पनीको दाबी छ।

केबलकारको तल्लो स्टेसनबाट माथिल्लो स्टेसनसम्मको यात्रा अवधि १० मिनेटको हुनेछ। केबलकारको क्याविन दुरी २२५ मिटर हुने छ भने १५ वटा टावर हुनेछन्। केबलकारमा प्रयोग हुने लठ्ठाको व्यास ४८ मीमीको हुनेछ। केबलकारको माथिल्लो र तल्लो स्टेसनमा हुने संरचना आरसीसी हुनेछ।

संरचना २ तले बन्नेछ। संरचनाको भुँइ तलामा बोर्डिङ क्षेत्र, अपरेटर रुम, प्रतिक्षालय, टिकट काउन्टर र अफिस रहने कम्पनीले जनाएको छ। यसैगरी पहिलो तलामा भने रेष्टुराँ, किचेन तथा शौचालय रहने छ। यसैगरी परियोजनाभित्रै १ सय रुम तथा १ सय ६० बेडको होटल सञ्चालन हुने छ।

होटलका लागि ३ वटा कमर्सियल भवन बन्ने कम्पनीले तयार पारेको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा उल्लेख छ। भुँइतलासहित ६ तलाको होटल संरचना बन्ने छ। भुँइ तलामा किचन, कफी सप, पार्टी हल, रेष्टुराँ, बैठक हल र शौचालय बन्ने कम्पनीले जनाएको छ। अन्य तलामा होटलका रुमहरु रहने छन्। आयोजनाको कुल लागत २ अर्ब ६४ करोड रहने अनुमान छ।