केन्द्रमा फेरिएको समीकरणले सुदूरपश्चिममा जोगिएला कांग्रेस सरकार ?
2023/02/25, 11:07
 
ss

केन्द्रमा फेरिएको समीकरणले सुदूरपश्चिमको कांग्रेस सरकार जोगिने भएको छ । मुख्यमन्त्री नियुक्त भएको आधा महिना बितिसक्दा विश्वासको मत पाउने आधार नपाइरहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले अन्ततः विश्वासको मत पाउने भएका छन् । केन्द्रमा हिजो बनेको नयाँ राजनैतिक समीकरणका कारण शाहको सरकार जोगिने निश्चित भएको हो ।

मुख्यमन्त्री नियुक्त भएको दिन देखी ३० दिन भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । माघ २६ मा कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । केन्द्रीय समीकरणमा कांग्रेस बाहिर रहेपनि संविधानको धारा १६८ को ३ अनुसार सुदूरपश्चिममा शाह मुख्यमन्त्रीमा नियुक्त भए । तर, एमाले र माओवादीको गठबन्धनका कारण विश्वासको मत नपाउने विश्लेषण भइरहेका बेला अन्ततः उनी सुरक्षित भएका छन् ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ । सुदूरपश्चिममा कांग्रेसका १९ र माओवादीका सभामुख सहित ११ सांसद छन्। यी दुई दल मात्रै मिल्दा पनि कांग्रेसको सरकार जोगिन्छ । तर, माओवादीले विश्वासको मत दिने भन्ने निर्णय भने गरिसकेको छैन ।

पुस २७ मा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले विश्वासको मत नपाएपछि माघ २६ मा रावलले राजीनामा दिए । त्यसपछि मुख्यमन्त्रीमा नियुक्त भएका शाहले पनि अहिले सम्म विश्वासको मत लिएका छैनन् । आगामी २५ गते भित्रै उनको विश्वासको मत लिइसक्नु पर्ने । कांग्रेसले अब केही दिन भित्रै विश्वासको मत लिने तयारी गरिरहेको छ । शुक्रबार आठ दलले कांग्रेस उम्मेदवारलाई राष्ट्रपति चुनावमा समर्थन गर्ने निर्णयसँगै १० पुसमा बनेको सत्ता गठबन्धन भत्किएको छ भने नयाँ आठदलीय गठबन्धन बनेको छ ।

नयाँ आठदलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा  माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टी छन् ।