बैङ्कहरूले चर्को ब्याजदर विरुद्ध सुदुरपश्चिमका उद्योगी व्यवसायीहरू आन्दोलित
2023/02/27, 11:44
 
ss

बैंकहरूले चर्को ब्याजदर लिएको भन्दै उद्योगी व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशमा आजदेखि चरणबद्ध आन्दोलन सुरु गरेका छन् । आजदेखि प्रदेशका सबै जिल्लामा एकै प्रकारको आन्दोलन तय गरेका व्यवसायीहरुले आन्दोलन थालेका हुन् । आज सोमबारदेखि सुदूरपश्चिमका मुख्य बजारहरु बिहान ९ बजेदेखि ११ बजेसम्म बन्द भएका छन् ।  

बैङ्कहरूले चर्को ब्याजदर लिएको भन्दै उद्योगी व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशका मुख्य बजारहरु दैनिक रुपमा दुई घण्टा बन्द गरेका हुन् । विरोध प्रदर्शन सहित दैनिक दुई घण्टा बजार बन्द २० गते सम्म गरिने भएको छ । बैङ्कमा बचत नगर्ने लगायतका आन्दोलन घोषणा गरेको र पहिलो चरणमा बजार बन्द र प्रदर्शनको कार्यक्रम गरिरहेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले जानकारी दिए । 

फागुन २० गते सम्म बैंकमा बचत नगर्ने लगायतका आन्दोलनका कार्यक्रम तय गरिएको छ । आजदेखि हरेक दिन विहान ९ बजेदेखि ११ बजेसम्मका लागि बजार बन्द गर्ने, विरोध र्याली निकाल्ने, प्रत्येक बैंक, राष्ट्र बैंकदेखि प्रशासनसम्म कोण सभा गर्ने कार्यक्रमहरु निर्धारण गरिएका छन् । उद्योगी व्यवसायीहरुले १८ गते भने कुनै पनि बैंक तथा वित्तीय संस्थामा ‘नो डिपोजिट’ अर्थात निक्षेप जम्मा नगर्ने भएका छन् । फागुनभित्र माग पुरा नभए थप छलफल गरेर सशक्त आन्दोलन गर्ने समेत निजी क्षेत्रले चेतावनी दिएको छ ।