कैलालीको त्रिनगर भन्सारमा लक्ष्यभन्दा न्यून राजस्व संकलन
2020/06/30, 5:06
 
rajaso

कोरोना संक्रमण फैलन नदिन सरकारले लामो समयसम्म गरेको लकडाउनको प्रभाव भन्सारको राजस्व संकलनमा पनि परेको छ । आर्थिक वर्षको अन्त्यतिरसम्म लकडाउनका कारण त्रिनगर भन्सार कार्यालय कैलालीले चालु लक्ष्यभन्दा न्यून राजस्व संकलन गरेको छ ।  आर्थिक वर्ष सकिन १५ दिन अघिसम्म लक्ष्यको ६८ दशमलव ७८ प्रतिशत मात्र राजस्व संकलन भएको भन्सार अधिकृत परमानन्द जोशीले जानकारी दिए । चालु आर्थिक वर्षमा छ अर्ब ७० करोड ३१ लाख ६६ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएकोमा चार अर्ब ६१ करोड चार लाख ३३ हजार रुपैयाँ संकलन उनले बताए ।  ‘चालु आर्थिक वर्षको लक्ष्य नै गत वर्षको भन्दा ३० प्रतिशतले बढाइएको थियो ।

लामो समयको लकडाउनका बेला पनि सामान आयात हुन सकेन ।’ भन्सार अधिकृत जोशीले भने, ‘त्यही भएर लक्ष्य भेटाउन मुस्किल परेको हो ।’ गत चैत ११ बाट लकडाउन सुरु भएको थियो । लकडाउनका बेला आयात पूर्ण रुपमा रोकिएको भने थिएन ।  चैतमा मासिक लक्ष्यको ५०.५४ प्रतिशत, बैशाखमा ४०.५७ र जेठमा ७४.८४ प्रतिशत राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ । यस्तै साउनमा मासिक लक्ष्यको ६५.८२ प्रतिशत, भदौमा ५९.२८ प्रतिशत, असोजमा ६३.६१ प्रतिशत र कार्तिकमा ८१.३७ प्रतिशत संकलन भएको भन्सार कार्यालयको तथ्यांक छ ।  सबैभन्दा पुसमा मासिक लक्ष्यको ९०.९२ प्रतिशत राजस्व संकलन भएको थियो । यस्तै माघमा ८३.८८ प्रतिशत र फागुनमा ९१.५४ प्रतिशत संकलन भएको छ । 

त्रिनगर नाकाबाट सबैभन्दा बढी मूल्यको पेट्रोलियम पदार्थ र ग्यास आयात हुने गरेको छ । यस्तै, मार्बल, बिस्कुट, कागज, दालामोठ, भुजिया, चामल, मकै आदि खाद्यान्न, दाना आदि सबैभन्दा बढी आयात हुने बस्तुमा पर्छन् । पेट्रोल र डिजलबाटमात्रै करिब दुई अर्ब राजस्व संकलन भएको छ । यस्तै दालमोठ, पापड, भुजियाबाट २० करोड ५९ लाख, कागजबाट १७ करोड १८ लाख, बिस्कुटबाट १३ करोड ६८ लाख, मार्बल, ब्लकबाट तीन करोड १८ लाख राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ । 
अर्बौको सामान आयात भए पनि यो नाकाबाट निर्यात भने निकै न्यून छ । जसले गर्दा यो नाकाबाट मात्र नेपालले वर्षेनी करोडौँ रुपैयाँ व्यापार घाटा व्यहोर्दै आएको छ ।

जेठ मसान्तसम्म त्रिनगर नाका भएर १६ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ मूल्य बराबरको समान आयात भएको छ । गत आर्थिक वर्षमा मात्रै नित्रगर नाकाबाट १९ अर्ब ७६ करोड मूल्यको सामान आयात भएको भन्सारको तथ्यांक छ । आयात गरिएकोमध्ये तेस्रो मुलुकबाट आउने सामान नगण्य रहेको भन्सार कार्यालयले जनाएको छ ।  आयात अर्बमा हुँदा निर्यात भने करोडमा हुने गरेको छ । चालु आर्थिक वर्षमा ५० करोड ८० लाख मूल्यको सामान मात्र निर्यात भएको भन्सार अधिकृत जोशीले बताए । कत्था, टार्पेन र रोजिनमात्र यहाँबाट निर्यात हुने गरेको छ । निर्यातजन्य सामान उत्पादन हुन नसकेकाले निर्यात न्यून रहेको उनले बताए ।

स्वदेशी उत्पादन बढ्न नसक्नु र आयातमा निर्भरता बढ्दै जानुले भारतसँगको व्यापार घाटा वर्षेनी बढ्दो छ । दुई वर्षयता त्रिनगर नाका भएर तीन अर्ब १५ करोड मूल्यको चामल मात्रै आयात भएको छ । भन्सार कार्यालयको तथ्यांक अनुसार यस वर्ष जेठसम्ममात्रै झण्डै १२ करोड मूल्यको आलु र २४ करोड मूल्यको मकै मात्रै भारतबाट आयात भएको छ ।