फेरी सङ्कटमा सुदूरपश्चिमका मुख्यमन्त्री : माओवादी र नाउपाले विश्वासको मत नदिने
सत्ताको किचलो
2023/03/04, 4:06
 
फेरी सङ्कटमा सुदूरपश्चिमका मुख्यमन्त्री : माओवादी र नाउपाले विश्वासको मत नदिने

धनगढी - नेकपा माओवादी केन्द्रले तत्काललाई मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ । मुख्यमन्त्री शाहले आइतबार फागुन २१ गते विश्वासको मत लिन गइरहेको बेला माओवादीले यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको हो ।

मुख्यमन्त्रीसँगको बैठकपछि माओवादी केन्द्रका प्रदेश सभा सदस्य अक्कल रावलले भने, ‘यथास्थितिमा अझै पनि विश्वासको मत दिने वातावरण बनेको छैन । त्यही कुराको निर्णय हामीले केन्द्रीय कार्यालयमा पठाएका छौँ। केन्द्रको निर्णयको पखाइमा छौ ।’

माओवादी केन्द्रले सुदूरपश्चिम सरकारको नेतृत्वसहित प्याकेजमा पावर सेयरिंग हुनुपर्ने माग राख्दै आएको छ । यसैबिच नागरिक उन्मुक्ति पार्टीले पनि अहिलेकै अवस्थामा मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसकिने बताएको छ । 

नागरिक उन्मुक्तिले मन्त्रालयको भागबन्डामा लिखित प्रतिबद्धता मागेको हो ।

‘दलीय सहमतिको लिखित हस्ताक्षर बिना विश्वासको मत दिन सकिँदैन,’ नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले फेसबुकमा लेखेकी छन् ।

नागरिक उन्मुक्ति पार्टी प्रदेश संसदीय दलका नेता रामेश्वर चौधरीले पनि सरकारमा जाने अवस्थामा मन्त्रालयको भागबन्डाका सम्बन्धमा लिखित प्रतिबद्धता दिनुपर्ने माग पार्टीको रहेको बताए ।

‘हामी अहिलेको सरकारलाई विश्वासको मत दिने समझदारीमा पुगेका छौँ तर उहाँहरूले मन्त्रालयको भागबन्डामा लिखित प्रतिबद्धता जनाउनुपर्छ,’ चौधरीले भने, ‘मुख्यमन्त्रीले दिनुभएन भने त्यसपछि सोच्ने अवस्था आउन सक्छ ।’