भारतमा अध्ययनरत बझाङका एकजना विद्यार्थी मृत भेटिए, हत्या गरिएको आशंका
2023/03/05, 5:49
 
भारतमा अध्ययनरत बझाङका एकजना विद्यार्थी मृत भेटिए, हत्या गरिएको आशंका

बझाङ - भारतमा अध्ययनरत बझाङका एक विद्यार्थी मृत फेला परेका छन् । बझाङको मष्टा गाउँपालिका वडा नं ४ बास्तोली घर भएका १९ वर्षीय रोहित चँदाराको शव इनारमा फालिएको अवस्थामा फेला परेको थियो ।

उनी भारतको कर्नाटक प्रदेशमा पर्ने बैंगलुरुमा रहेको क्राइस्ट युनिभर्सिटीमा स्नातकोत्तर तहमा अध्यनरत थिए । गत फेब्रुअरी २६ तारिखका दिन बैंगलुरुकै सज्जापुरस्थित कोठाबाट हराएका उनको शव सज्जापुरबाट ३४ किलोमिटर टाढा चन्दापुरा भन्ने ठाउँमा भेटिएको हो ।

त्यहाँस्थित एक इनारमा कपडा खोलिएको, कान र मुखबाट रगत आएको अवस्थामा चँदराको शव फेला परेको उनका बुवा खड्क चँदाराले बताए । उनको शव शनिबार फेला परेको थियो । 'लास पानीमाथि नआओस् भनेर रुखको हाँगाहरु माथि राखेर ढुङगाले छोपेको रहेछ,' खड्कले भने, 'बाहिर हत्या गरेर लास लुकाउन इनारमा फालेको हो । मेरो छोराको हत्या भएको हो ।'

मृतकका बावुका अनुसार सधैँ क्याम्पसबाट आएपछि घरमै बसेर पढ्ने रोहितलाई त्यस दिन उनका भारतीय साथीहरु श्रीनिवास, सुदर्शन र रिहान घरमै आएर घुम्न लिएर गएका थिए । साँझसम्म रोहित घर नफर्किएपछि उनीहरुका साथीहरुलाई सोध्दा आफूसँग नगएको र रोहितको बारेमा थाहा नभएको जवाफ दिएको मृतकका छिमेकी दिपक खड्काले बताए ।

हत्याको आशंकामा कर्नाटक प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । यद्यपि भारतमा नेपालीको हत्यालाई प्रहरीले सामान्य रुपमा लिने गरेकाले न्याय नपाइने हो कि भन्ने मृतकका परिवारको आशंका छ । 'नेपालीलाई कसैले मार्‍यो भने पक्राउ गरेर एक/दुइ हप्ता थुन्छन् । पछि छोडिदिन्छन्,' मृतकी आमा आशा चँदाराले भनिन्, 'मेरो छोराको हकमा पनि त्यस्तै हुन्छ कि भन्ने डर लागेको छ ।' मृतकका बुवाआमाले लामो समयदेखि भारतमा मजदुरी गरेर छोरा र छोरीलाई उतै पढाउँदै आएका थिए । उनीहरूले आफ्नो छोराको हत्या भएको भन्दै घटनाबारे गम्भीर छानबिन हुनुपर्ने माग गरिरहेका छन् ।