धनगढीमा विश्व नेपाली नारी साहित्य सम्मेलन हुँदै
2023/03/15, 2:38
 
ss

धनगढीमा विश्व नेपाली नारी साहित्य सम्मेलन हुने भएको छ। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा आगामी चैत्र १० गतेदेखि १३ गतेसम्म चार दिन नारी साहित्य सम्मेलन हुन लागेको हो। विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भूटान, म्यानमार लगायतका देशहरूबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागीता रहने साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले बताए।

सम्मेलनमा विलक्षण प्रतिभाशाली बालिका प्रिन्सा रेग्मी, स्थापित समाजसेवी अनुराधा कोइराला, मधेसका मुर्धन्य साहित्यकार राजेन्द्र विमल, गजलकार तिलक पेला, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा अमेरिका पनि सहभागी हुने जनाइएको छ। समारोहमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई सम्मान गरिने छ।

अध्यक्ष पाण्डेयका अनुसार साहित्यकार झमकलाई एक लाख ११ हजार रुपैयाँ राशीको बद्रि–कृष्णा बाङ्गमय पुरस्कार प्रदान गरिने छ। नारी सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने तय भएको अध्यक्ष पाण्डेयले बताए। २०७६ सालमा विश्व नेपाली साहित्य सम्मेलन र २०७८ सालमा नेपाली साहित्य सम्मेलन आयोजना गरिसकेको छ ।