सुदूरपश्चिमको पर्यटन विकासका लागि ‘हैजिरा फूल्याको छैक्या’ डेउडा
2023/03/16, 3:57
 
ss

सुदुरपश्चिमको कलासँस्कृति र पर्यटन प्रवद्र्धनका लागि ‘हैजिरा फूल्याको छैक्या’ बोलको डेउडा गीत बनेको छ। सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लालाई समावेश गरेर बनाइएको डेउडा गीतले यहाँको कलासँस्कृति र पर्यटन प्रवद्र्धनका लागि टेवा पुर्याउने उद्देश्य राखिएको निर्माण टिमले जानकारी दिएको छ।

चिसापानी एड्भेन्चर रिर्सोटका सञ्चालक तपेन्द्र रावलको शब्द रहेको उक्त गीतमा चर्चित डेउडा गायक चक्र बम, रेखा जोशी, पुजा देवकोटा र तपेन्द्र रावलले स्वर दिएका छन्। त्यसैगरी म्युजिक भिडियोमा पनि उनले स्वंय अभिनय गरेका छन्। करीब दुईवर्ष अघि नै रेकर्ड गरिएको उक्त गीतको म्युजिक भिडियोको छायाँकनको काम भर्खरै सम्पन्न भएको छ।

सुदुरपचिमको प्रदेशको प्रवेशद्वार चिसापानी कर्णाली पुल, कैलालीको घोडाघोडि ताल, त्रिवेणी धाम, कञ्चनपुरको वेदकोट ताल, अछामको रामारोसन, पञ्चदेवल, डडेलधुराको उग्रतारा मन्दिर र सुदुरपश्चिमको भु–स्वर्ग मानिने खप्तड क्षेत्र लगाएत सुदरका नौवटै जिल्लाका प्रमुख पर्यटकीय स्थलहरुसहित भारतको मुम्बैमा उक्त गीतको म्युजिक भिडियो छायाँकन गरिएको गायक तथा निर्देशक तपेन्द्र राववले बताए।

कोरोना कहरका कारण समग्र पर्यटन क्षेत्रमा देखिएको मन्दीले सुदरको पर्यटन व्यवसायलाई समेत नराम्ररी थलापारेकाले यहाँको पर्यटन प्रवद्र्धनका लागि गीत तयार पारीएको उनले जानकारी दिए। सुदुरपश्चिमको मौलिक भाषामा बनको यो गीतबाट उठेको रकमले विदेशी पर्यटकको समेत मन जित्न निकट भविष्यमा चिसापानी कर्णालीमा चारैतिर मुखाकृति भएको गौतमबुद्धको शालीक समेत स्थापना गर्ने उनको योजना छ।  करीब २६ लाख रुपैयाँ लगानी लागेको उक्त म्युजिक भिडियो अबको केहि दिनमै संघीय राजधानीमा एक भव्य कार्यक्रम आयोजना गरी सार्वजनिक गरिने छ।