अहिलेको जस्तै स्थिति रहे अटोमोबाईलका स्वरुमहरु बन्द हुने अवस्था आउँछ– युवा व्यवसायी ओझा
2020/06/30, 8:09
 
puskar

पुष्कर ओझा कैलालीको धनगढी स्थित विशेष अटोमोबाइल्स प्रालि र प्राप्ती अटो इन्टरप्राइजेजका प्रबन्ध निर्देशक हुन् । उनी धनगढीका एक जल्दाबल्दा युवा व्यवसायी हुन् । ओझा उक्त क्षेत्रका लागि हिरो मोटरसाइकल र सुजुकी एवं रेनो कारको आधिकारिक बिक्रेता कम्पनीको सञ्चालकका रुपमा कार्यरत छन् । सामाजिक कार्यमा समेत सक्रिय ओझा नेपाली युवा उद्यमी संगठन का संस्थापक अध्यक्ष हुन् भने कैलाली उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हुन् । प्रस्तुत छ उनै ओझासँग धनगढी र आसपास क्षेत्रको अटोमोबाइल व्यवसायको वर्तमान अवस्थाका बारेमा गरिएको कुराकानी: 

लकडाउन खुकुलो भएसँगै त्यस क्षेत्रमा अटोमोबाइल व्यवसायको अवस्था कस्तो छ ?
लकडाउन शुरु भएको पहिलो महिना अटोमोबाइल लगायत सबैजसो व्यवसाय ठप्पै रह्यो । दोस्रो महिनाबाट वर्कशपहरु खुल्न थालेपछि चलायमान हुन थालेको व्यवसायले तेस्रो महिनासम्म आइपुग्दा केही मात्रामा गति लिन थालेको छ । अहिले धनगढीमा लकडाउन खुकुलो भएपनि नजिकको अत्तरियामा लकडाउन कायमै रहेका कारण बजारले सोचेअनुरुप गति लिन सकेको छैन । यद्यपि लकडाउनको शुरुवाती समयको तुलनामा पछिल्लो समय सवारीसाधनको बिक्री केही मात्रामा बढेको छ ।

यो अवधिमा सवारी साधनको बिक्री कस्तो रह्यो ? भोलिका दिनमा यसको प्रभाव कस्तो रहला ?
मेरो आफ्नो कुरा गर्नुहुन्छ भने लकडाउन अघि महिनामा औसत १ सय थान मोटरसाइकल बिक्री हुँदै आइरहेकोमा यो ३ महिने अवधिमा जम्माजम्मी १ सय थान मोटरसाइकल बिक्री भएको छ । कारको कुरा गर्नुहुन्छ भने ४/५ वटा मात्र बिक्री भए । यो बिक्रीले हाम्रो संचालन खर्च धान्न नै पुग्दैन । धनगढीमा गाडी शोरुमको भाडा निकै महंगो छ । ३ महिनाको यो बिक्रीले भाडा तिर्न नै पुग्दैन । कर्मचारी लगायत अन्य खर्च पुरै घाटामा छौ ।

महामारीको यो अवस्था केही समयपछि हट्यो भने पुरानो लय समात्न गाह्रो नहोला तर यही अबस्था अर्को ३/४ महिना लम्विने हो भने धेरै शोरुम बन्द हुने अबस्था छ । अहिले हामी पर्ख र हेरको अबस्थामा छौ । त्यसैले खर्च कम गर्नकै लागि भनेर कर्मचारी कटौती गरेका छैनौ । तर दुःखको कुरो सरकारले घरबेटीलाई भाडा नलिनु र बैंक तथा वित्तीय संस्थाहरुलाई यो अवधिभरको ब्याजमा छुट र कर्जामा सहुलियत दिन भने पनि ती निकायहरुले मानेका छैनन् । पहिलेकै नियम अनुसार भुक्तानी गर्नु परेको छ ।

व्यवसाय पुरानै लयमा फर्कने विषयमा कत्तिको आशाबादी हुनुहुन्छ ?
कोराना महामारीसँगै उपभोक्तामा निजी सवारीसाधनको महत्व झनै बढेर गएको छ । सार्वजनिक सवारीसाधन सञ्चालन हुने अनिश्चितता र सुरक्षाका हिसावले समेत जोखिमपूर्ण हुने हुँदा अधिकांश उपभोक्ताहरुले आफ्नै निजी सवारीसाधन राख्ने सोच बनाएका छन् । यो हाम्रा लागि खुसीको कुरा हो । अहिले उपभोक्ताहरु समेत पर्ख र हेरको अबस्थामा रहेको हुँदा लकडाउन खुल्ने बित्तिकै निजी सवारीसाधन खरिद गर्न शोरुम आँउछन् भन्नेमा आशाबादी छु ।

वर्कशप र स्पेयर पार्ट्सको अवस्था चाहिँ कस्तो छ ?
लकडाउनका कारण सीमाना सिल गरिएको हुँदा चोरी पैठारी भएर आउने स्पेयर पार्ट्समा कमी आएको छ । जसका कारण जेन्युइन स्पेयर पाटर््सको बिक्री यो समयमा निकै नै बढेको छ । वर्कशपमा सवारीसाधन मर्मत सम्भार गर्न आउने ग्राहकहरु समेत बढ्दै जान थालेका छन् । बिक्री पछिको सेवामा पहिलेभन्दा सुधार आएको छ । 

अन्त्यमा थप केही भन्न चाहनुहुन्छ कि ?
अहिले आयातकर्ता र हामीजस्ता बिक्रेता दुबै पक्षका लागि अबस्था सहज छैन । त्यसैले यो समयमा टार्गेट लिने र दिने भन्दा पनि भैरहेको व्यवसायलाई कसरी निरन्तरता दिने भन्नेमै बढी केन्द्रित हुनुपर्छ । अहिले प्रेसर लिएर वा दिएर काम गर्ने अवस्था छैन ।