सुदूरपश्चिम विश्वविद्यालयको १० क्याम्पसमा आज निर्वाचन, ४ क्याम्पसमा अझै टुङ्गो छैन
2023/03/22, 11:35
 
सुदूरपश्चिम विश्वविद्यालयको १० क्याम्पसमा आज निर्वाचन हुँदै, ४ क्याम्पसमा अझै टुङ्गो छैन

धनगढी - सुदूरपश्चिम विश्वविद्यालयका १० वटा आङ्गिक क्याम्पसमा स्ववियुको नेतृत्वका लागि आज निर्वाचन भइरहेको  छ । विश्वविद्यालयको अन्तर्गतका १५ क्याम्पस मध्ये १० क्याम्पसमा बिहान ८ बजेदेखि स्ववियु निर्वाचनका लागि मतदान भैरहेको हो ।

सुदूरपश्चिमकै सबै भन्दा बढी चासोको रूपमा हेरिएको कैलाली बहुमुखी क्याम्पसमा पनि बुधबार स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन भैरहेको छ।चुनावको चरणमा विद्यार्थीहरू आफ्नो नेतृत्व चयन गर्न आतुर छन् । स्वतन्त्रदेखि पार्टी निकटका विद्यार्थी सङ्गठनहरू प्यानलै बनाएर चुनावी मैदानमा होमिएका छन् । सभापति पदमा मात्रै दुईजना स्वतन्त्रसहित ७ जनाको उम्मेदवारी छ।

अनेरास्ववियुबाट यमराज जोशी, अखिल (क्रान्तिकारी) बाट पवन सुनार, नेपाल विद्यार्थी संघबाट हरिश खत्री, राप्रपा विद्यार्थी संगठनबाट नविन शाहु, स्वतन्त्रबाट खगेन्द्र प्रसाद अवस्थी र धुर्वराज न्यौपाने सभापति पदको उम्मेदवार छन्। स्ववियु निर्वाचनका लागि गत १ चैतमा मनोनयन दर्ताको समय भए पनि आन्तरिक विवादका कारण केन्द्रीय क्याम्पसहितका ५ क्याम्पसमा मनोनयन दर्तासमेत हुन सकेको थिएन । तर, केन्द्रीय क्याम्पसले आगामी २१ गते निर्वाचनको नयाँ मिति तय गरे पनि अन्य ४ क्याम्पसमा भने निर्वाचनको मिति अझै तय हुन सकेको छैन । बाँकी ४ क्याम्पसमा स्ववियु निर्वाचन गराउनका लागि विद्यार्थी सङ्गठन र क्याम्पस प्रशासन अझै छलफलमा छन् ।