खुला ठाउँमा ज्येष्ठ नागरिकको उपचार
गाउँमा बिरामी भए हत्तपत्त स्वास्थ्य चौकीसम्म लैजाने मान्छे भेटिँदैनन्
2023/03/22, 11:44
 
खुला ठाउँमा ज्येष्ठ नागरिकको उपचार

अछाम - खुला आकाश, ढुंगैढुंगामुनि एउटा कपडा बिछ्याएर एक ज्येष्ठ नागरिक सुतिरहेकी छन् । सिकिस्त बिरामी देखिने ती महिलालाई रूखमा स्लाइनको डोरी अड्काएर हातमा क्यानोला लगाइएको छ । यो दृश्य अछामको ढकारी गाउँपालिका–२ भलाने गाउँको हो ।

गाउँपालिकाको केन्द्रबाट ५ घण्टा पैदल परको भलाने गाउँका बासिन्दा स्वास्थ्यको पहुँचबाट टाढा छन् । गाउँ नजिक भनिएको हिच्मा स्वास्थ्य चौकी पुग्न यहाँका ६० परिवारले २ घण्टाभन्दा बढी पैदल हिँड्नुपर्छ । यसरी खुला आकाश र भुइँमै सुतेर उपचार गराइरहेकी ती महिला हुन्, ढकारी गाउँपालिका–२ भलानेकी ८० वर्षीया दुरादेवी साउद । चार वर्षदेखि दम, डाढ दुख्ने र रिँगटा लाग्नेजस्ता समस्यासँग जुधिरहेकी उनी एक वर्ष अगाडिसम्म हिच्मा स्वास्थ्य चौकीसम्म ३/४ घण्टा हिँडेर पुग्थिन् । यसपालि उनी हिँड्नै नसक्ने गरी थला परेकी छन् ।

दुरादेवीलाई हिच्मामा जाँच गर्दा कमजोरी भएको भन्दै स्लाइन लगाउन भनियो । छोराको साथमा मेडिकलसम्म गएकी उनले पटकपटक मेडिकलसम्म पुग्न नसकिने भन्दै अर्को स्लाइन किनेर घरमा ल्याइन् । ‘स्वास्थ्य चौकी जाँदा कमजोरीले बिरामी भएको हो भन्छन् । एउटा स्लाइन त्यतै लगाइदिए । अर्को किनेर ल्याएकी थिएँ । स्वास्थ्य चौकीबाट आएका डाक्टरले लगाइदिए,’ उनले भनिन्, ‘स्वास्थ्य चौकी टाढा छ । अब म हिँडेर त्यता पुग्नै सक्दैन । गाउँमै महिनाको एकपटक डाक्टर आउँछन् । उनले उपचार गरिदिन्छन् ।’

गाउँमा बिरामी भएपछि हत्तपत्त स्वास्थ्य चौकीसम्म लैजाने मान्छे पनि भेटिँदैनन् । धेरैजसो पुरुष भारतका विभिन्न सहरमा कामको खोजीमा जानु यहाँको आम समस्या जस्तै भलाने गाउँको पनि हो । टाढाको स्वास्थ्य चौकीसम्म हिँडेर जान नसक्ने धेरैजसो बिरामी अहिले पनि रोगसँग जुधिरहेका छन् । जहाँ सिटामोलकै अभावमा अकालमै ज्यान गुमाउनेहरू पनि छन् ।

हिच्मा स्वास्थ्य चौकीको कार्य क्षेत्रभित्र पर्ने भलानेमा प्रत्येक महिनाको ३ गते स्वास्थ्य चौकीले अहेब र अनमीसहितको स्वास्थ्यकर्मीको टोली पठाउँछ । भलाने गाउँका बासिन्दा स्वास्थ्यकर्मीको टोली आउने दिन कुरेर बस्छन् । स्वास्थ्य चौकीबाट गएको टोलीले सामान्य स्वास्थ्य जाँच गरेर फर्किन्छन् । गाउँघर क्लिनिक नामले प्रत्येक महिनाको एक दिन हुने जाँचमा न त बस्ने कुनै ठाउँ छ, न गम्भीर प्रकृतिका बिरामीलाई अन्त रेफर गरिन्छ ।

गाउँघर क्लिनिक नामको मात्रै भएको र महिनाको एकपटक खुला आकाशमुनि भए पनि स्थानीयको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी पठाउन थालिएको वडा २ का अध्यक्ष चन्द्र साउदले बताए । ‘सिकिस्त र इमर्जेन्सी बिरामीका लागि धेरै गाह्रो छ । चालु आर्थिक वर्षमा गाउँघर क्लिनिक स्थापनाका लागि पहल गरे पनि सकिएन,’ उनले भने, ‘वडाको बजेटले यो सबै सम्भव छैन । पालिका, प्रदेश, संघ सरकारले पहल गरिदएको भए हुन्थ्यो ।’ जनप्रतिनिधिको एक कार्यकाल सकिँदा पनि भलाने गाउँलाई कसैले नहेरेको उनको पनि गुनासो छ । ‘मेरो घर पनि भलाने नै हो । योभन्दा पहिलेकाले केही गरिदिएनन् । अब त मेरै जिम्मेवारी हो । सडक सञ्जालसँग जोड्न पहल भइरहेको छ,’ उनले भने ।

स्थानीय कृष्ण साउदका अनुसार भलाने स्वास्थ्य सेवाको हिसाबले मात्रै होइन, विद्यालय, सडक सञ्जाललगायतका धेरै विकासबाट टाढा छ । ‘सदरमुकाम मंगलसेन त हाम्रो लागि धेरै टाढा हो । हामी गाउँपालिकाबाटै पिछडिएका छौं । हाम्रो समस्या र अभाव कोही सुन्दैनन् । सबैले सुन्न सक्ने गरी बोल्न सक्ने अवस्थाका मान्छे पनि गाउँमा छैनन्,’ कृष्णले भने, ‘घरमै सुत्केरी हुने, गाह्रो भएको बेला स्वास्थ्य चौकी लैजाँदा पनि बाटोमा कति महिलालाई गाह्रो भएको छ । कतिका ज्यान अकालकै गएका छन् ।’ उनका अनुसार भलानेभन्दा दुई घण्टा परको गाउँसम्म मात्रै सडक पुगेको छ ।

गाउँमा एक बालविकासबाहेक अन्य विद्यालय पनि छैन । ४५ मिनेट हिँडेर कक्षा १ देखि ४ सम्म मंगलसेन नगरपालिका–१३ साल्पटामा रहेको विद्यालयमा जानुपर्ने बाध्यता रहेको साउदले बताए । कक्षा ४ देखि १० पढ्न मंगलसेन–१३ कै डाँडीगडेको विद्यालयमा २ घण्टा हिँडेर जानुपर्ने अवस्था रहेको उनले बताए । ‘गाउँमा सडक, एक स्वास्थ्य चौकी र एक विद्यालय भए पनि यहाँको जीवनस्तर बदलिने थियो । बिजुली बाल्न पाउने कुरा त हाम्रा लागि सपनाजस्तै हो,’ उनले भने ।