सेती अस्पतालमा बिचौलियाको ‘सेटिङ’
अत्याधुनिक उपकरण थन्काइए
2023/03/23, 1:35
 
अत्याधुनिक उपकरण थन्काइए

धनगढी - धनगढीका २१ वर्षीय चक्र भट्टको पेट असाध्यै दुखेपछि अभिभावकले केही दिनअघि नजिकैको निसर्ग अस्पताल पुर्‍याए । चिकित्सकले एपेन्डिसाइटिस भएको भन्दै शल्यक्रिया गर्नुपर्ने बताए । निजी अस्पतालमा महँगो हुने भन्दै अभिभावकले तत्काल नजिकैको सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरे । चिकित्सकहरूले जाँचपछि भोलिपल्ट शल्यक्रिया हुने भन्दै बिरामीलाई खाली पेट बस्न लगाए । तर, भोलिपल्ट बिहान बिरामीका कुरुवालाई जानकारी गराइयो– ढिलो हुने भएकाले निजीमा लैजानू ।

त्यसपछि बाध्य भएर बिरामीलाई फेरि निसर्ग लगियो र उनको शल्यक्रिया भयो । ‘एक दिनसम्म खाली पेट बस्न पनि भनेका थिए तर दोस्रो दिन अचानक प्राइभेटमा लैजाऊ पो भन्न थाले,’ बिरामीका काका भरत भट्टले भने, ‘सेतीमा यतिसम्म मनपरी देख्नु र भोग्नुपर्दा साह्रै मन दुख्यो । १०/१५ हजारमा हुने उपचारलाई निजीमा ५० हजारभन्दा बढी तिर्नुपरेको छ ।’

कैलालीको धनगढी उपमहानगरपालिका–४ की २७ वर्षीया गोलरानीदेवी चौधरी पेट दुखेपछि गत माघ १९ गते सेतीमै पुगिन् । जाँचपछि पित्तथैलीमा ढुंगा देखियो, चिकित्सकले शल्यक्रिया गर्न भने । तर पालो तोकियो– २०८१ वैशाख ५ गते । ‘प्राइभेटमा अप्रेसन गरौं भने पैसा छैन । दुखाइ सहेर पनि सेतीले दिएको पालो कुर्दै छु,’ गोलरानीले भनिन् ।

सुदूरपश्चिमको एक मात्र रेफरल सेन्टरसमेत रहेको सेती प्रादेशिक अस्पतालमा सहज सेवा पाउन नसकेर सास्ती भोग्ने सयौं बिरामीमध्ये यी प्रतिनिधि हुन् । केही भौतिक पूर्वाधार अपुग भए पनि विशेषज्ञ चिकित्सक र अत्याधुनिक ल्याब भएको अस्पताल सुदूरपश्चिमका बासिन्दाले उपचारका लागि आशा राख्ने प्रमुख सरकारी स्वास्थ्य केन्द्र हो । तर, बिचौलियाको चंगुलमा फसेको अस्पतालबाट सेवा प्रवाहमा भने अपेक्षित सहजता छैन । पछिल्ला दिन अधिकांश पहुँचविहीन बिरामीले सेवा पाउनै कठिन रहेको गुनासो गरेका छन् ।

कोभिडका बेला राम्रो सेवा प्रवाह गर्दै सेवा सुधारमा आशा जगाएको सेती अहिले फेरि भताभुंग भएको धनगढीका नागरिक अगुवा प्रमोद पाठक बताउँछन् । अस्पतालमा नियोजित रूपमा बिरामीलाई सास्ती दिने र प्राइभेटमा जान बाध्य पार्ने गरिएको गुनासो बढेको उनको भनाइ छ । उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्षसमेत रहेका धनगढीका धनपति ढुंगेल सेतीमा कार्यरत चिकित्सक र ल्याबका कर्मचारीका प्राइभेट संस्था रहेको सुनिएको बताउँछन् । ‘बिचौलियाको सेटिङमा सरकारीमा सेवा दिन ढिलासुस्ती गरेर सर्वसाधारण बिरामीलाई प्राइभेटमा जान बाध्य पारिन्छ,’ उनले भने, ‘सरकारीमा काम गर्दै गरेको ब्रान्ड मात्र चाहिने भएकाले त्यहाँका कर्मचारीको ध्यान र समय भने प्राइभेटमा देखिन्छ ।’

सेतीको प्रयोगशालामा पर्याप्त प्राविधिक छन्, अत्याधुनिक उपकरण छ । तर सेवा प्रभावकारी छैन । एमडी प्याथोलोजिस्टसहित २४ ल्याब टेक्निसियन रहेको सेतीमा कुनै पनि परीक्षण हुन नसकेर बाहिर पठाउनुपर्ने अवस्था नहुनुपर्ने हो । तर, अवस्था ठीक उल्टो छ । विभिन्न रोगको ल्याब परीक्षणका लागि आवश्यक अत्याधुनिक उपकरण थन्काइएका छन् । यहाँ कार्यरत अधिकांश प्राविधिक नाम चलेका डाइग्नोस्टिक सेन्टरका सञ्चालक रहेका छन् ।

सुदूरपश्चिम स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा काजमा कार्यरत रेडियोलोजिस्ट डा. निरज अर्याल धनगढीमा नाम चलेको निजी अस्पताल नवजीवन अस्पतालका सञ्चालक हुन् । सेतीले भिडियो एक्सरेका लागि दैनिक ४० जनाको मात्र टिकट काट्छ । तर भिडियो एक्सरे गर्नुपर्नेहरू भने दैनिक एक सयभन्दा बढीको संख्यामा हुन्छन् । सेतीमा साढे चार सयमा हुने भिडियो एक्सरे उनै डाक्टरले प्राइभेटमा गर्दा सात सयदेखि एक हजारसम्म शुल्क लाग्छ । सेवा व्यवस्थित नहुँदा बिरामीहरू शोषणमा परिरहेका छन् ।

अस्पतालको सीमित क्षमताका कारण बिरामीले पालो कुर्नुपर्ने अवस्था आएको जनरल सर्जरी विभाग प्रमुख डा. ललित विक बताउँछन् । सेतीमा एउटा मात्रै अप्रेसन थिएटर र २८ बेड क्षमताको सर्जरी वार्ड छ । जसअन्तर्गत जनरल सर्जरी विभागले साताको दुई दिन शल्यक्रिया सेवा सञ्चालन गर्छ । आकस्मिक केसबाहेक एक दिनमा १४ जनाको शल्यक्रिया हुने डा. विकले बताए । ‘बाहिरबाट आउने गुनासोबारे हामी जानकार छौं । तर भित्री व्यवस्थापन र बाध्यताबारे पनि थाहा पाए हुन्थ्यो,’ उनले भने, ‘हाम्रो क्षमता एक दिनमा १४ जना मात्र छ तर अप्रेसन गर्नुपर्ने बिरामी दोब्बरभन्दा बढी हुन्छन् ।’ निजीमा २५ हजार लाग्ने एपेडिसाइटिसको शल्यक्रिया गर्न सेतीमा अढाई हजार मात्र पर्छ, त्यही भएर पनि बिरामीको चाप अत्यधिक छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डे विगतका तुलनामा धेरै सुधार भए पनि बिरामीको अत्यधिक चापले सेवाप्रति असन्तुष्टि बढ्दै गएको स्विकार्छन् । ‘सबैले बिरामीको उपचार गर्नुपर्‍यो, अझ निःशुल्क गर्नुपर्‍यो भन्ने दबाब मात्र दिन्छन्,’ उनले भने, ‘सात/आठ सय कर्मचारी चाहिने ठाउँमा एक चौथाइ पनि छैनन् ।’ अस्पताल प्रदेश सरकार मातहत आए पनि सरकारले कुनै वास्ता नगरेको उनको गुनासो छ । ‘छात्रवृत्तिका २५ मेडिकल अधिकृतले त आठ महिनादेखि पारिश्रमिक पाएका छैनन् । अस्पतालले बिमाको साढे चार करोड भुक्तानी पाएको छैन,’ उनले गुनासो गरे । कान्तिपुरबाट