महाकाली प्रादेशिक अस्पतालमा अझै सुरु भएन डायलसिस सेवा
2023/03/23, 1:41
 
महाकाली प्रादेशिक अस्पतालमा अझै सुरु भएन डायलसिस सेवा

कञ्चनपुर - महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मिर्गौलाका बिरामीका लागि उपयोगी हुने डायलसिस मेसिन आएको डेढ वर्ष भयो । मेसिनलगायत अन्य उपकरण जडान पनि भइसकेको छ । जनशक्ति भर्ना र तालिम दिने काम पनि भएको छ । तर, डायलसिस सेवा भने सञ्चालन हुन सकेको छैन ।

डायलसिस सेवाका लागि दुई महिनादेखि सबै उपकरण तयारी अवस्थामा राखिएको छ । स्वास्थ्य सेवा विभागबाट अनुमति र सूचीकृत नहुँदा सेवा सञ्चालन हुन नसकेको अस्पतालले जनाएको छ । ‘डेढ/दुई महिनाअघि नै सबै तयारी सकिएको छ,’ अस्पताल विकास समितिका अध्यक्ष कृष्णानन्द भट्टले भने, ‘डाक्टरदेखि स्टाफ नर्स सबैलाई तालिम पनि दिइसकिएको छ ।’ महाकाली प्रादेशिक अस्पतालले निःशुल्क डायलसिस सेवा सञ्चालन गर्ने भएकाले त्यसका लागि स्वास्थ्य सेवा विभागबाट अनुमतिसँगै सूचीकृतसमेत गर्नुपर्ने हुन्छ ।

विभागको प्राविधिक टोली चैतभित्रै आउने जानकारी प्राप्त भएको अध्यक्ष भट्टले बताए । प्राविधिक टोलीले अनुमति दिनेबित्तिकै सेवा सञ्चालन हुने उनले बताए । अस्पतालले यसकै लागि ४ जना तालिमप्राप्त स्टाफ नर्स भर्ना गरेको छ । तीन डाक्टरलाई तालिम दिएको छ । अस्पतालमा ५ वटा डायलसिस मेसिन जडान गरिएको छ । जसमध्ये ४ मेसिनबाट नियमित सेवा दिइने र एउटालाई आकस्मिक रूपमा राखिनेछ । उपकरण र तालिमप्राप्त जनशक्ति भएर पनि सेवा सञ्चालन नभएको भन्दै बुधबार मिर्गौला रोगबाट ग्रसितहरूले अस्पताल विकास समितिको ध्यानाकर्षण गराएका छन् । ‘हामीलाई सेती प्रादेशिकमा पालो पाउनै मुस्किल हुन्छ, पालो पाएपछि तपाईंकै जिल्लामा मेसिन आइसकेको छ, उतै गराउनुस् भनेर सुनाउँछन्,’ सेती प्रादेशिक अस्पतालमा डायलसिस गराइरहेको शुक्लाफाँटा नगरपालिका ११ दीपनगरका जयबहादुर बिष्टले भने ।

बिष्टका अनुसार कञ्चनपुरबाट ४० जनाभन्दा बढी मिर्गौला रोगी डायलसिसका लागि धनगढी पुग्ने गर्छन् । उनीहरूमध्ये अधिकांश हप्ताको दुई/तीन दिन जान्छन् भने एक/दुई जना मात्रै एक दिन जान्छन् । उनका अनुसार भीमदत्त नगरपालिका, दोधारा चाँदनी, बेदकोट र दक्षिणी क्षेत्रका पनि अधिकांश बिरामी भारततिर जाने गरेका छन् । निजी स्वास्थ्य संस्थामा डायलसिस गराउँदा एक पटकको साढे ४ हजारसम्म खर्च लाग्ने गरेको छ । सेती प्रादेशिक अस्पतालमा पनि दुई पटकभन्दा बढी डायलसिस गराउँदा औषधि र अन्य सामानको साढे ३ हजारसम्म शुल्क लाग्ने गरेको बिष्ट बताउँछन् ।