बाघको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु
2023/03/24, 3:22
 
बाघको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुर - कञ्चनपुरको पुनर्वास नगरपालिका - १० की एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ । सीमावर्ती भारतीय दुधुवा नेसनल पार्कभित्र शुक्रबार बिहान करीव ७ : ३० बजे स्थानीय महिलाहरुसंगै घास दाउरा लिन गएकी पुनर्वास नगरपालिका वडा नम्बर १० मदनटोलकी करीव  ३२ वर्षीया कलसा सार्कीको बाघको आक्रमणमा परी मृत्यु भएको   हो । उनीसंगै रहेका अन्य महिलाहरुले भने भागेर ज्यान जोगाएका छन् । ६/७ जनाको समूहमा गएका महिलाहरु जंगलभित्र बाघदेखेपछि कराउदै भागेका थिए । उनीहरुमध्ये कलसाको बाघको आक्रमणमा परी ज्यान गएको हो ।

नेपाल-भारत सीमा क्षेत्रबाट करिब दुई किलोमिटर भारततिर गौरीफण्टा बन एरियामा पर्ने एसएसबी क्याम्प लालकुवा नम्बर ८ को दक्षिण पुर्वमा सार्कीको शव फेला परेको कुण्डा सब डिभिजन बन कार्यालय पच्कडिया कञ्चनपुरका प्रमुख दिनेश कुमार यादवले बताए ।

घट्नाको जानकारी पाएपछि कुण्डा सब डिभिजन बन कार्यालय प्रमुख यादव सहितको टोली घट्नास्थल पुगेको थियो ।

प्रहरीले मुचुल्का उठाएपछि लाश यतिबेला दशगजा क्षेत्रमा ल्याईएको छ । सब डिभिजन बन कार्यालय प्रमुख यादवले लाश पोष्टमार्टमका लागि बेलौरी लैजान लागिएको जानकारी दिए ।