विदेशी टोली एभिनर खप्तड गोल्डकपको सेमिफाईनलमा
2023/03/24, 7:16
 
ss

विदेशी टोली एभिनर फुटबल क्लव क्यामरुन छैठौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा पुगेको छ । प्रतियोगिताको दोस्रो दिन भएको खेलमा क्यामरुनको एभिनर एफसीले ‘ए’ डिभिजन क्लव खुमलटार फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । धनगढी रंगशालामा शुक्रबार भएको खेलमा एभिनरले आठौं मिनेटमा कोन्फोरको गोलमा अग्रता लिएको थियो । 

खेलको ३६ औं मिनेटमा अनुज भण्डारीले गोल गर्दै खुमलटारलाई बराबरीमा ल्याएका थिए । पहिलो हाफमा बराबरी नतिजा रहेपनि दोस्रो हाफमा खुमलटारले केही कमजोर प्रदर्शन गर्यो । दोस्रो हाफमा एभिनरका मोसिसले लगातार दुई गोल गर्दै विदेशी टोलीलाई अन्तिम यात्रा तय गराए । उनले खेलको ६६ औं र ७२ औं मिनेटमा गोल गरेका थिए । एभिनरले सेमिफाईनल प्रवेशका लागि बागमती युवा क्लव र मनाङ मस्र्याङ्दी क्लवबीच हुने खेलको विजेतासंग खेल्ने छ ।

शनिबार नेपाल पुलिस क्लव र भारतीय क्लव जर्जियनबीच प्रि–क्वाटरफाइनलको अन्तिम खेल हुनेछ । मोफसलको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो । आयोजक सहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ ।