भारतमा धार्मिक मेला, श्रद्धालुको लर्को नेपालतिर
2023/03/25, 11:32
 
भारतमा धार्मिक मेला, श्रद्धालुको लर्को नेपालतिर

कञ्चनपुर - प्रायः सुनसान रहने कञ्चनपुरको नेपाल–भारत सीमा नाका गड्डाचौकीमा यतीबेला चहलपहल निकै बढेको छ । भारततर्फबाट नेपाल भित्रिनेको लर्को छ । नाकामा अटोदेखि बसलगायतका सवारी साधनको भीड छ ।

कतिपय यात्रु सवारी साधनबाट महेन्द्रनगर पुग्छन् भने कतिपय पैदलै । उनीहरू महेन्द्रनगरस्थित सिद्धबाबा मन्दिर दर्शन गरेर फेरि त्यसैगरि फर्किन्छन् । महेन्द्रनगर बजारमा पनि दर्शनार्थीका कारण भीडभाड निकै बढेको छ । चैते दसैंको नवरात्री सुरु भएदेखि नै सिद्धबाबाको दर्शन गर्न आउनेका कारण भीड बढेको हो । बाटोदेखि मन्दिर परिसरमा समेत दर्शनार्थीको लर्को लागेको सहजै देखिन्छ ।

फागु पूर्णिमादेखि सुरु हुने पूर्णागिरि मेलाको मुख्य अवधि चैते दसैंको नवरात्री हो । यहो अवधिमा भारतको उत्तराखण्ड र उत्तरप्रदेशसंँगै दिल्ली र नेपालको विभिन्न क्षेत्रबाट दर्शनार्थी आउने गरेका छन् । मेला अवधीमा यातायात, होटल र लुगाकपडा लगायतको व्यवसाय फस्टाउने गरेको छ । ‘मेलाले थोरै भए पनि यस क्षेत्रको व्यापार व्यवसाय चलायमान बनाउछ,’ कञ्चनपुर उद्योग वाणिज्य संघको कोषाध्यक्ष राहुल भट्टले भने, ‘यसलाई व्यवस्थित गर्न सबै जुटुनपर्छ ।’ उनका अनुसार बिहीबार उद्योग वाणिज्य संघले मेला व्यवस्थापनका लागि सर्वपक्षीय छलपलसमेत आयोजना गरेको थियो ।

दर्शनार्थीलाई बाटोमा पिउने पानीको व्यवस्थापन, सवारी साधनमा भाडामा एकरुपता, गड्डाचौकीदेखि नै सिद्धबाबाको मन्दिरसम्मको बाटोमा साइनेजहरू राख्ने र सवारी साधनलाई बसपार्कबाटै यात्रु भर्न दिने लगायतका विषयमा छलफल भएको थियो । अहिले ठूलादेखि साना सवारीसाधनहरू मन्दिरसम्मै पुगिरहेका छन् । यसले एकातिर भीडमा दुर्घटनाको जोखिम बढाउनुका साथै अर्कोतर्फ दर्शनार्थीले बजारमा जान नपाएर व्यापार नै नहुने व्यवसायीहरू बताउँछन् ।

‘कम्तीमा दर्शनार्थीले बजारमा डुल्न पाए लुगा कपडादेखि खानेकुरा केही त खरिद गर्ला,’ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले भने, ‘मन्दिरसम्मै बसहरू चलाउँदा ठूलो दुर्घटनाको जोखिम पनि हुन्छ ।’

नवरात्रि सुरु भएदेखि दैनिक हजारौंको संख्यामा दर्शनार्थीहरू यहाँ आउने गरेका छन् । मेलामा आउने दर्शनार्थीले चाइनिज सामानहरू बढी रुचाउने गरेका छन् । चाइनिज कपडा, विद्युतीय सामान, छाता र खेलौनाहरू बढी मात्रामा रुचाउने व्यवसायीहरू बताउँछन् । तर केही वर्षयता नेपालको तुलनामा भारतमै चाइनिज सामानहरू सस्तो पाइने भएकाले व्यापार व्यवसाय कम हुँदै गएको छ ।

उत्तराखण्डको पिलिभित, बहराईच, लख्खिमपुरलगायतका जिल्लाबाट ठूलो संख्यामा दर्शनार्थी यहाँ आएका छन् । उनीहरू गाउँबाटै चार/पाँच दिन पैदल हिँडेर पूर्णागिरि जान्छन् । त्यहाँबाट पनि पैदलै हिँडेर महेन्द्रनगरसम्म आइपुग्छन् । पूर्णागिरिको मेलाको अवधिमा भीमदत्त नगरपालिका ९ ब्रम्हदेवमा पनि ठूलो भीड लाग्ने गरेको छ । ब्रम्हृदेवमा रहेको सिद्धबाबाको मन्दिरमा पनि एकै दिन १०/१५ हजार दर्शनार्थी पुग्ने गरेका छन् । प्राचीन सिद्धबाबाको मन्दिर भीमदत्त नगरपालिका ९ को चुरे फेदीस्थित खल्लामा थियो । खल्लाबाटै ब्रम्हृदेव र महेन्द्रनगरमा स्थापना गरिएको हो ।

भारत उत्तराखण्डको चम्पावत जिल्लामा पर्ने महाकाली किनारको चुरेको डाँडामा रहेको पूर्णागिरि माताको दर्शनपश्चात सिद्धबाबाको पनि अनिवार्य दर्शन गर्नुपर्ने धार्मिक विश्वास छ । प्रचीनकालमा सिद्धबाबा पूर्णागिरिका भक्त थिए । उनको भक्तिबाट प्रसन्न भई पूर्णागिरि आफ्नो दर्शनपश्चात सिद्धबाबाको पनि दर्शन गरे मात्रै मनोकांक्षा पूरा हुने वरदान दिएको किम्वदन्ती छ ।

पूर्णागिरि मेलाका कारण सीमावर्ती भारतीय बजार बनबासा र टनकपुरमा पनि भीडभाड बढेको छ । भीडभाडकै कारण बिहीबार पूर्णागिरि मन्दिर नजिकै ठुलीगाडमा ठूलो दुर्घटना समेत भएको छ । अनियन्त्रित बस दर्शनार्थीको भीडमा पस्दा ५ जनाको घटनास्थलमै मृत्यु भयो । ८ जना घाइते भए । यसअघि पनि बनबासा–टनकपुर सडक खण्डमा दुई वर्षअघि अनियन्त्रित टिपरले ठक्कर दिँदा ८ दर्शनार्थीको मृत्यु भएको थियो ।