कैलालीका दुई वटा अस्पताल तथा फार्मेसीमा सिल
2023/03/25, 7:15
 
dd

कैलालीका दुई वटा अस्पताल तथा फार्मेसीमा सिल गरिएको छ । सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको नेतृत्वमा औषधि व्यवस्था विभागको टोलीले कैलालीको गोदावरी नगरपालिकामा सञ्चालनमा रहेका दुई वटा अस्पताल तथा फार्मेसीमा सिल गरेको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार अत्तरियामा सञ्चालनमा रहेको नेहा फार्मेसी र सुदूरपश्चिमाञ्चल सामुदायीक हस्पिटलमा सिल गरिएको छ ।  टोलीले कैलालीका आठ वटा फार्मेसी तथा अस्पतालमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा फार्मेसी दर्ता नभएको, नविकरण नभएको, सञ्चालक अनुपस्थित रहेको, लागूऔषध तथा मानसिक रोगसम्बन्धिका औषधिहरुको अभिलेखिकरण नगरेका लगायतका कमजोरी अनुगमनका क्रममा फेला परेको उनले बताए ।

सामाजिक विकास मन्त्रालयका योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख हेमराज खडकाले कैलालीका फार्मेसी तथा क्लिनिकहरुबारे मन्त्रालयमा गुनासो बढ्न थालेपछि बजार अनुगमन गरिएको बताए । उनले भने –‘बजार अनुगमन भएमा फार्मेसी, क्लिनिक तथा अस्पतालमा भईरहेका कमीकमजोरीहरु सुधार हुदै जान्छ । अब यसलाई नियमित दिइने छ ।’ उनले अनुगमनका क्रममा भेटिएका त्रुटिहरुलाई सच्याउन सुझाव दिएको बताए ।