प्रदेश किशोर–किशोरी स्वास्थ्य प्रवर्द्धन तारा छनोट हुने
2023/03/26, 10:23
 
ss

सुदूरपश्चिममा ‘प्रदेश किशोर–किशोरी स्वास्थ्य प्रवर्द्धन तारा’ छनोट प्रतियोगिता हुने भएको छ। नसर्ने रोग रोकथाम तथा नियन्त्रण गर्न किशोर– किशोरीहरूको भूमिकाका लागि प्रतियोगिता हुन लागेको हो। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रादेशिक स्वास्थ्य  प्रवर्द्धन केन्द्रको आयोजनामा प्रतियोगिता गरिने प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र महेन्द्रनगरका प्रमुख हेमराज खड्काले बताए।

प्रतियोगितामा भाग लिन इच्छुक किशोर–किशोरीले ‘नसर्ने रोग नियन्त्रणका लागि एक कदम अगाडि’ शिर्षकमा २ देखि ३ मिनेटको जनचेतनामूलक भिडियो सन्देश निर्माण गरेर मुल्याङ्कनका लागि प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रको इमेल ठेगानामा पठाउनु पर्नेछ। भिडियो सन्देशको मुल्याङ्कन गरेर हरेक जिल्लाबाट एक जना किशोरी र एक जना किशोर गरि १८ जनालाई दोस्रो चरणका लागि छनोट गरिने छ।

दोस्रो चरणमा पुगेका सहभागीहरूको अन्तिम छनोट धनगढी गरिने खड्काले बताएका छन्। दोस्रो चरणमा प्रतियोगी बिच प्यानल छलफल, बहस र वक्तृत्वकला प्रतियोगिता  गरेर उत्कृष्ट हुने एक जना किशोरी र एक जना किशोरलाई जनही ५० हजार पुरस्कार प्रदान गरिने छ। प्रतियोगितामा भाग लिन इच्छुक किशोर–किशोरीले थप जानकारी लिनुपर्ने भए मोबाइल नम्बर ९८४८४६५२३६ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरिएको छ।