६ महिनादेखी तलव बिहिन धनगढीका स्वास्थ्यकर्मीको ब्यथा, न स्कुलको फिस तिर्न सक्यौँ, न पसलको उधारो
2023/03/26, 3:28
 
६ महिनादेखी तलव बिहिन धनगढीका स्वास्थ्यकर्मीको ब्यथा, न स्कुलको फिस तिर्न सक्यौँ, न पसलको उधारो

धनगढी - सुन्दा अचम्म लाग्न सक्छ, जुन स्वास्थ्यकर्मीले दिन रात नभनी बिरामीको सेवा गरिरहेका हसन्छन् तिनै स्वास्थ्यकर्मी ६ महिनादेखी पारिश्रमिक बिहिन छन् । कैलालीको धनगढी उप महानगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत ५४ जना स्वास्थ्यकर्मीहरुले गत कार्तिक महिनादेखी पारिश्रमिक पाउन सकेका छैनन् । प्रत्येक महिना आउने पारिश्रमिकलेनै घर खर्च देखी शन्तानको बिद्यालय शुल्क सम्म धान्दै आएका धनगढीका राष्ट्रसेवकहरुले ६ महिनादेखी पारिश्रमिकनै नपाउँदा संकटपुर्ण जिवन गुजार्नुपरेको छ ।

धनगढी उप महानगरपालिका वडा नम्बर ५ घर भएकी नन्दा देवी भण्डारीलाई करिब ५५ बर्ष उमेर पुगिसक्यो । हाल धनगढी उप महानगरपालिका वडा नम्बर १८ को स्वास्थ्य चौकीमा कार्यरत उनले ३० बर्ष स्वास्थ्य सेवामा काम गरिसकेकि छिन् । कैलालीको चुरे, मोहन्याल लगायतका दुर्गम पालिकाहरुमा लामो समय सेवा दिइसकेकी भण्डारीले सेवारत अवस्थामा न घर परिवार भनिन्, न छोराछोरीकै राम्रोसित पालनपोषण गर्न पाइन् । सरकारले खटाएको ठाउँमा अनवरत सेवामा रहेकी भण्डारीले जनयुद्धका बेला समेत दुर्गम क्षेत्रमै सेवा दिइन् । उमेर बढ्दै गएपछि आवतजावतमा सहज होस भनेर धनगढी उप महानगरपालिका अन्तर्गत रोजेकी उनले ६ महिनादेखी पारिश्रमिक पाएकि छैनन् । उनकै पारिश्रमिकबाट घरमा खाद्यान्न, तरकारी सम्म आउँथ्यो तर कार्तिकदेखी पारिश्रमिक रोकिएपछि उनलाई घर चलाउनै मुस्किल छ ।

मैले स्वास्थ्यमा सेवा गरेको ३० बर्ष पुग्यो मलाई ५५ बर्ष उमेर पुगिसकेको छ भण्डारीले भनिन् “अहिलेपनि हसनपुरमा घर छ, म दिनको ३ सय रुपयाँ भाडा तिरेर फुलवारी स्वास्थ्यचौकीमा सेवा गरिरहेकी छु, मैले २ बर्ष उमेरका छोराछोरी छोडेर दुर्गम ठाउँमा समेत सेवा गरेकी छु, श्रीमान, बालबच्चा, घर परिवार कहिल्यै संगै बसेनौँ, म सधैँ सरकारले खटाएको क्षेत्रमा रहे, तर बुढेसकालमा घर नजिक के आए ५ महिनादेखी एक रुपयाँ तलव खान पाएकि छैन, श्रीमानकोपनि पैँसा आउँदैन अहिले, मेरो पारिश्रमिक रोकिएको छ, भन्नलाई कर्मचारी हौँ भन्छौँ बेलुका घरमा चामल हुँदैन, हाम्रा समस्या कोही बुझ्नैनन् ।”

नन्दादेवीको मात्रै समस्या होइन धनगढी उप महानगरपालिका अन्तर्गतका ५४ जना स्वास्थ्यकर्मीलाई एउटै समस्या परेको छ । दिन रात नभनी स्वास्थ्य क्षेत्रमा सेवा दिइरहेका कर्मचारीहरुलाई सरकारले गत कार्तिकदेखी पारिश्रमिक दिएको छैन । ६ महिनासम्म पारिश्रमिक नपाएपछि उनिहरुलाई घर चलाउनै मुस्किल भएको छ । धनगढीकी सिनियर अनमी गिता भट्टले सरकारबाटै आफुहरु ठगिएको बताइन् । हामीलाई सेवा गर्न पठाएको छ भने सरकारले पारिश्रमिक त दिनैपर्छ नी उनले भनिन् “हामी ६ महिनादेखी बिना पारिश्रमिक काम गरिरहेका छौँ कहिले तलव आउँछ थाहा छैन, बालबच्चाको स्कुल फिस तिर्न बाँकी छ, पसलबाट उधारो लिएको तिर्न बाँकी छ अनी हामीले कसरी बाँच्ने त ।” धनगढीकै स्वास्थ्यकर्मी जयकला रावतले कामका लागी कर्मचारी राख्ने तर पारिश्रमिक नदिइनु गलत भएको बताइन् । तत्काल आफ्ना माग सम्बोधन गर्न उनको आग्रह छ ।

बिना पारिश्रमिक ६ महिना काम गरेका स्वास्थ्यकर्मीहरु अन्तः आन्दोलनमा उत्रिएका छन् । धनगढी उप महानगरपालिकाका प्रमुखसंग पटक÷पटक समस्या समाधानका लागी आग्रह गरेपनि सुनुवाई नभएपछि उनिहरु सेवा ठप्प पार्दै उपमहानगर परिसरमा धर्ना बसेका छन् । पारिश्रमिक उपलब्ध नहुँदासम्म सेवा ठप्प पार्दै आन्दोलन जारी राख्ने उनिहरुले चेतावनी दिएका छन् ।

धनगढीका मेयर गोपनल हमाल मार्फत ज्ञापनपत्र बुझाएका स्वास्थ्यकर्मीहरुले सेवा ठप्प गर्दै धर्ना थालेका हुन् । धनगढी उप महानगरपालिकाका स्वास्थ्य साखा प्रमुख योगेश अवस्थीका अनुसार गत कार्तिक महिनादेखी धनगढीका स्वास्थ्यकर्मीले पारिश्रमिक पाउन सकेका छैनन् । धनगढीमा दरबन्दी न्युन छ तर स्वास्थ्य संस्था त्यो भन्दा बढी छन् उनले भने “अहिले धनगढीका सबै वडामा स्वास्थ्य चौकी छन्, ति स्वास्थ्यचौकीमा धनगढीमै दरबन्दी भएका कर्मचारी हुनुहुन्न बाहिरको कर्मचारीपनि हुनुहुन्छ, सरकारले कि दरबन्दी थप्नुपर्छ हैन भने काजमा भएका कर्मचारीलाई पारिश्रमिक त समयमै खुवाउनुपर्छ नी ।” हामीले प्रमुख प्रशासकिय अधिकृत देखी नगर प्रमुख मार्फत धेरै पटक पारिश्रमिकका लागी पहल थालेका थियौँ उनले भने “आश्वासन मात्रै पाइने तर सुनुवाई नभएपछि हामी आन्दोलनमा उत्रिएका हौँ, सरकारले हामीलाई पारिश्रमिक नदिदासम्म आन्दोलन जारी रहने छ ।”

धनगढी उप महानगरपालिकाका अनुसार दरबन्दी भन्दा बढी स्वास्थ्यकर्मी भएपछि पारिश्रमिकमा समस्या देखिएको हो । १६ जना स्वास्थ्यकर्मीको मात्रै दरवन्दी रहेको धनगढीमा हाल ५४ जना स्वास्थ्यकर्मी कार्यरत छन् । कर्मचारी समायोजनका बेला धनगढी उप महानगरपालिकामा सरकारले समायोजन गर्ने तर सो अनुसारको पारिश्रमिक नदिएका कारण कर्मचारीहरु पारिश्रमिकबाट बञ्चित भएको उप महानगरले जनाएको छ । धेरै पटक स्वास्थ्य मन्त्री तथा सचिवहरुसंग रकम माग गर्दा पठाउछु भन्ने आश्वासन मात्रै पाएको उप महानगरपालिकाका प्रमुख गोपाल हमालले बताए । कर्मचारीको पारिश्रमिकका बिषयमा संघ सरकारनै गम्भिर बन्नुपर्ने बताउँदै उनले आफुले गर्ने पहल निरन्तर राख्ने बिश्वास दिलाए ।