१५ दिन नपुग्दै उप्कियो कालोपत्रे
2023/04/01, 11:21
 
ss

टीकापुर स् कैलालीको टीकापुर नगरपालिका–१ मा निर्माण भइरहेको नमुना ब्लक सडक कालोपत्रे गरेको १५ दिन नपुग्दै उप्किएको छ। पटक–पटक निर्माण अवधि थपेर निर्माण कम्पनी महालक्ष्मी÷एमके जेभीले कालोपत्रे गर्न सुरु गरेको उक्त सडकको १५ दिन नपुग्दै कालोपत्रे उप्किन थालेको हो।

टीकापुरको खड्गचोकदेखि टीकापुर अस्पताल, खानेपानी ट्यांकी, इलाका प्रहरी कार्यालय हुँदै मेनरोड रहेको ब्लक नं ए का भित्री सडकहरू कालोपत्रे भइरहेका छन्।  खानेपानी ट्यांकी क्षेत्रको सडक कालोपत्रे गरेको १५ दिनसमेत नपुग्दै उप्किएको हो। स्थानीय मीनबहादुर विष्टले कालोपत्रे भएको हप्ता दिन नपुग्दै कालोपत्रे उप्किन सुरु भएको बताए। ‘कालोपत्रे निर्माण भएको एक हप्ता पनि नपुग्दै सडकका ठाउँठाउँमा उप्किन सुरु भएको हो’ उनले भने ‘यसको कारणबारे सम्बन्धित निकायले ध्यान दिएको छैन।’

रिक्साचालक हरिबहादुर चौधरीले सडकअगाडि निर्माण हुँदै पछाडि भत्किरहेको बताए। ‘हामी रिक्साचालक यो रोड बन्ने भएपछि निकै खुसी भएका थियौं’ उनले भने ‘कालोपत्रेमा सायद तारकोलको कमी छ, ठाउँठाउँमा उप्किरहेको छ, यो वर्षा नलाग्दै सडक बिग्रिन्छ कि भन्ने लाग्छ।’

निर्माण कम्पनीले सडक गुणस्तरमा ध्यान नदिँदा कालोपत्रे सडक केही दिनमै उप्किने अवस्था आएको प्राविधिकहरू बताउँछन्। स्थानीय इन्जिनियर बालकृष्ण घिमिरेले भने ‘कालोपत्रका लागि हालिएको डस्ट सडकसँगै निर्माण गरेका नालीहरूमै फालिएको छ, केही दिनमै नाली नै भरिने देखिन्छ, अहिलेकै अवस्था भए नालीको पानी पसलहरूमा पस्ने खतरा छ, निर्माण कम्पनीले काम सक्नमा मात्रै ध्यान दिएको छ, गुणस्तरमा ध्यान छैन।’

नमुना ब्लक बनाउने भनिएको ब्लक ए टीकापुरको मुख्य बजार क्षेत्रमा पर्दछ। नगरपालिका केन्द्रको वरिपरि रहेको सडक गुणस्तर नहुँदा स्थानीयहरू आक्रोशित छन्। ‘कालोपत्रेमा अलकत्राको कमीका साथै कम्पेक्सन राम्रो भएको देखिँदैन’ इन्जिनियर रवीन्द्र विष्टले भने ‘सडकको बीच भागमै हातले गिटी निकाल्न सकिने गरी बनाएको देखिन्छ। सडकको बेसमा समेत माटो देखिएको छ। यसले गर्दा सडकको निर्माण गुणस्तरीय हुन सकेको छैन। यसको बेस, सब बेसमै समस्या हुनाले केही दिनमै भत्किन सुरु हुन्छ।’

सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ कार्यालयको करिब ८ करोड लागतमा ब्लक एको ३ किलोमिटर सडक कालोपत्रे र नाली निर्माण कार्य भइरहेको छ। ब्लक एको तीनतिरको मुख्य सडक र केही भित्री सडकसमेत कालोपत्रे भइरहेका छन्। निर्माण कम्पनीका प्रतिनिधि जयराम थापाले सडक कालोपत्रे गर्दा तत्काल ठूला सवारीसाधन चलेकाले सडकका केही भागको कालोपत्रे सेट हुन नसकेको दाबी गरे। ‘सडक निर्माण गर्दा हामीले बाटो पूर्ण रूपमा बन्द गर्न सकेनौं, जसले गर्दा सेट नहुँदै ठूला गाडी हिँडेकाले समस्या आएको हो’ थापाले भने ‘निर्माण सकिएको छैन, हामी यो सडकलाई पुनः मर्मत गर्छौं, गुणस्तरमा निर्माण कम्पनी प्रतिबद्ध छ।’

टीकापुर नगरपालिकाका नगर उपप्रमुख खडकबहादुर शाहले कालोपत्रे भएको सडक केही दिनमा उप्किएको बताउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताए। ‘हामीले हेर्दा समेत कालोपत्रेमा समस्या देखिएको छ’ उपप्रमुख शाहले भने ‘सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ कार्यालय धनगढीलाई गुणस्तरमा ख्याल गर्न ध्यानाकर्षण गराएका छौं। यही अवस्थामा सडक राम्रो बनेको देखिँदैन।’

संघीय आयोजना कार्यान्वयन इकाइ कार्यालय धनगढीका साइड इन्चार्ज इन्जिनियर सन्तोष जेठाराले नमुना ब्लकको खानेपानी ट्यांकी सडकमा केही प्राविधिक समस्या देखिएको बताए।  ‘केही समस्या भएरै उप्केको हुनुपर्छ, कालोपत्रको तल्लो लेयर राम्रै छ’ इन्जिनियर जेठाराले भने ‘प्रिमिक्सको माथिल्लो लेयरमा बिटुविनले काम नगरेको देखिन्छ, सामान्यतया बिटुविन बढी जल्दासमेत यस्तो समस्या आउने हुन्छ।’ कालोपत्रे भएको सडक १५ दिन नपुग्दै उप्किएपछि इन्जिनियर जेठाराले बिटुविनको प्राविधिक परीक्षण गर्न पठाएको बताए।