गर्मी बढेसँगै सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरस ९कोभिड–१९०को सङ्क्रमण देखिन थालेको छ । विगतका वर्षमा कोरोनाको उच्च जोखिममा रहेको सुदूरपश्चिममा पुनः कोरोनाको सङ्क्रमण देखिन थालेको हो । जाडो याममा शून्यमा झरेको कोरोना सङ्क्रमण गर्मी बढेसँगै देखिन थालेको हो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्याङ्क अनुसार सङ्क्रमणको दर बढ्न थालेको छ । एन्टिजेन विधिबाट १६६ जना शङ्कास्पद बिरामीको नमुना परीक्षण गर्दा ३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमित हुनेमा भारतबाट फर्किनेहरू छन् । भारतमा सङ्क्रमितको दर बढेसँगै यहाँ पनि सङ्क्रमणको दर बढेको हो । कोरोना सङ्क्रमणको ग्राफ उकालो लागेसँगै त्यसको न्यूनीकरणका लागि सतर्कता भने बढाउन सकिएको छैन । सर्वसाधारणहरू पनि बेफिक्री देखिएका छन् । सुदूरपश्चिम प्रदेशको भारतसँग जोडिएको मुख्य सीमा नाका गड्डा चौकी र गौरीफन्टाका साथै कैलालीको सत्ती भन्सार नाकामा सतर्कता बढाउन सकिएको छैन ।
कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सङ्क्रमण जतिबेला पनि बढ्ने भएकाले तयारी बढाएको बताए । सीमा नाकामा केही केस देखिएसँगै नियमित रूपमा स्वास्थ्य जाँच र शंकास्पदहरुको नमुना सङ्कलन र परीक्षणका लागि प्रादेशिक प्रयोगशाला पठाउँदै आएको उनले जनाए । जिल्लास्थित गड्डा चौकी र त्रिनगर गौरीफन्टा सीमा नाकामा स्वास्थ्यकर्मीहरू परिचालित अवस्थामा रहेको बताउँदै उनले थप प्रभावकारी बनाउन केही दिन अघि सरोकारवालाको बैठक समेत बसेको सुनाए ।
कोरोना कहरकै बेलाको सतर्क अपनाउन जरुरी रहेकाले आम सर्वसाधारणले भौतिक दूरी कायम गर्नुका साथै मास्क प्रयोग गर्नेलगायत सतर्कता अपनाउनुपर्नेमा प्रशासनको जोड छ । कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले फैलिन सक्ने सङ्क्रमणलाई मध्यनजर गरी उच्च सतर्कता अपनाएको बताए । सीमा नाकामा जाँचसँगै सबै पालिकामा तत्कालै कोरोना विरुद्धको बुस्टर डोज दिने तयारीमा रहेको बताउँदै उनले कैलालीका लागि ५४ हजार डोज खोप आएको जानकारी दिए ।
सङ्क्रमितलाई लक्षित गरी कैलालीको धनगढी र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८, भगतपुरमा १र१ हजार क्षमताको होल्डिङ सेन्टर निर्माण गरिए पनि तिनको व्यवस्थापनबारे सरोकारवाला निकायले तदारुकता देखाउन नसकेको पाइएको छ ।