जिविकोपार्जनका लागि रोजगारको व्यवस्था गर्नुपर्ने एचआईभी संक्रमितको माग
2023/04/02, 6:26
 
ss

कैलालीको गोदावरी नगरपालिका ११ की ४५ वर्षिया ‘ए’ नाम परिवर्तितका श्रीमान एचआईभी संक्रमणका कारण मृत्यु भयो । भारतमा रोजगारीमा गएर फर्केका श्रीमानका कारण उनी एचआईभी संक्रमित भईन । एचआईभी संक्रमण र श्रीमानको मृत्युपश्चात उनलाई दैनिक जिविकोपार्जनमा समस्या भईरहेको बताउँछन् । उनी भन्छिन –‘एचआईभी संक्रमण भएपछि सरकारबाट निःशूल्क औषधी उपचार पाईरहेको छु । तर, घरमा खाना, लुगा कपडा लगायतको व्यवस्था गर्न समस्या रहेको छ ।’

श्रीमानको कमाईबाटै घर खर्च चलाउँदै आएकी उनी एचआईभी संक्रमणका कारण पीडितसंगै वेरोजगार हुँदा समस्यामा छिन् ।
‘रोजगारी पनि छैन् । खानलाई गाह्रो छ । संक्रमणका कारण भारी काम गर्न सकिदैन ।’ उनले बालबालिकाको पढाइको व्यवस्थासंगै आफूहरुले गर्न सक्ने कामको लागि सरकार गम्भिर हुनुपर्ने बताए । 

उनीमात्र होइनन पछिल्लो समय कैलालीका एचआईभी संक्रमित परिवारलाई बालबालिकालाई शिक्षाको व्यवस्थासंगै घरमा खाद्यान्न, लुगाकपडा लगायतको व्यवस्थापन गर्न समस्या भईरहेको गुनासो गर्छन् । उनीहरु भन्छन ‘औषधीले मात्रै धेरै कमजोर बनाएको हुन्छ । पोषण नपुगेर पनि संक्रमितहरुले ज्यान गुमाइरहेका छन् ।’ 

राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी प्रसाद खरेलले एचआईभीबाट जोखिममा रहेका समुदायलाई आयोगले हेर्ने गरेको बताए । उनले पछिल्लो समय संक्रमितको अवस्था र यसले राज्यमा परेको अवस्थाका बारेमा मानव अधिकार आयोग संवेदनसिल बनेको बताए । ‘तीन तहका सरकारले आफ्नो क्षेत्र अधिकारभित्र रहेर काम गर्नु पर्छ,’ उनले भने ‘यसका लागि तिनै तहले समन्वय गर्न जरुरी छ ।,’ उनले स्थानीय सरकारले भारत जानेहरुको अध्ययन अनुसन्धान र उनीहरुका लागि रोजगारीको ब्यवस्था गर्नुपर्ने बताए ।

सामाजिक विकास मन्त्रालयका योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख हेमराज खडकाले आफ्नो हक अधिकारका लागि सम्वन्धित निकायसम्म संक्रमितलाई पुग्न आग्रह गरे । ‘पछिल्लो समय संक्रमितहरु जागरुक भइसकेको भएपनि केही मानिसहरु लुकेर बसेका कारण सेवाबाट बन्चित भईरहेका छन्’ उनले भने ।

सेती प्रादेशिक अस्पतालका एआरटी प्रमुख लोकराज पनेरुले पछिल्लो समय एचआइभीको क्षेत्रमा सुधार आएको बताए । ‘जहाँ एचआइभी संक्रमित छन् । त्यहाँका पालिकाहरुले बजेट छुट्याएको छ’ उनले भने ‘संक्रमित आफूले पनि चासो देखाएर जानुप¥यो ।,’ उनले संक्रमितको स्वास्थ्य परीक्षणदेखि विभिन्न किसिमका सुविधा अस्पतालले दिँदै आएको बताए । सुदूरपश्चिम प्रदेशका सभामुख भीम बहादुर भण्डारीले तीनै तहको सरकारले एचआइभी संक्रमितहरुका लागि विभिन्न कार्यक्रम गरिरहेको बताए ।

उनले राज्यले गरेका नीतिहरुका कार्यान्वय भए नभएकोबारे सबै सजग हुनुपर्ने बताए । ‘सुदूरपश्चिम एचआइभी एड्समा एकदमै भयाबह स्थितीमा गइसकेको बेला यसलाई नियन्त्रण गर्न गाह्रो थियो तर, पछिल्लो समय नियन्त्रणमा आएको छ र सुधार भएको छ’ उनले भने ।