टीकापुरका दुबै क्याम्पसमा नेविसंघको प्यानल विजयी
2023/04/05, 11:16
 
ss

कैलालीका अधिकांश क्याम्पसमा लज्जास्पद हार व्यहोरेको नेपाल विद्यार्थी संघ टीकापुरका दुईवटै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन कब्जा गर्न सफल भएको छ । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत रहेको टीकापुर बहुमुखी क्याम्पसमा मंगलबार सम्पन्न स्ववियु निर्वाचनमा प्यानलसहित विजयीहुँदै नेविसंघले स्ववियु कब्जा गर्न सफल भएको हो । 

स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेविसंघका नृप थापा निर्वाचित भएका हुन् । यसअघि वीरेन्द्र विद्यामन्दिर क्याम्पसमा सम्पन्न भएको स्ववियु निर्वाचनमा नेविसंघका नविन अधिकारी अध्यक्षमा निर्वाचित भएका थिए । आज बिहान सम्पन्न मतगणना अनुसार नेविसंघका थापा ४ सय ७५ मतसहित विजयी भएका हुन् । 

निर्वाचनमा अनेरास्ववियुका सुन्दर विश्वकर्माले ३ सय ४२, नागरिक विद्यार्थीका भीमबहादुर चौधरीले २ सय ६६ र क्रान्तिकारीका भुपेन्द्र रावलले २ सय ३३ मत प्राप्त गरेका हुन् । त्यसैगरी सचिवमा ५ सय १० मत प्राप्त गर्दै नेविसंघका मणिराज भट्ट विजयी भएका छन् । 

सचिवमा प्रत्यासी नागरिक विद्यार्थी समाजका अनुज चौधरीले २ सय ८७ मत, अखिल क्रान्तिकारीका मनिषा चन्दले २ सय २६ र अनेरास्ववियुका लक्ष्मी ढकालले २ सय २४ मत प्राप्त गरेका हुन् । कोषाध्यक्षमा नेविसंघकै अनिता डगौरा थारु ४ सय ७४ मतसहित विजयी भएकी हुन् । 

उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका गणेश ओलीले २ सय ८४ मत,अनेरास्वयिुका यमराज साउँदले २ सय ६९ र नागरिक विद्यार्थी समाजका निर्मला धामीले २ सय २३ मत प्राप्त गरेका हुन् । हिजो सम्पन्न भएको मतदानमा १ हजार ३ सय ४३ मत खसेको निर्वाचन अधिकृत लालसिंह कार्कीले जानकारी दिएका छन् ।  क्याम्पसमा १ हजार ६ सय १२ मतदाता रहेका थिए ।