मुख्यमन्त्री शाहद्वारा प्रादेशिक आयुर्वेद चिकित्सालयको उद्घाटन
2023/04/05, 5:28
 
ss

धनगढी उप महानगरपालिका वडा नम्बर १३ मा सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय सञ्चालनमा आएको छ । आयुर्वेदिक पद्धतीबाट सरल उपचार सेवा दिने उद्देश्यले केही महिनाअघीबाट सेवा शुरु गरेको चिकित्सालयको बुधबार बिधिवत उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादूर शाहले गरेका छन् ।

आयुर्वेदिक बिधिको उपचार सेवालाई बिस्तार गर्ने योजनाका साथ सातै प्रदेशमा आयुर्वेद चिकित्सालय सञ्चालनका लागी संघ सरकारले बजेट बिनियोजन गरेको थियो । प्रादेशिक आयुर्वेद अस्पताल प्रदेश सरकार माथहत राखिएको छ । चिकित्सालयको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकारको ठुलो सम्पतीका रुपमा रहेको आयुर्वेद चिकित्सालयलाई प्रवद्र्धन गर्ने दायित्व प्रदेश सरकारकै रहने बताएका छन् । यसको संरक्षण संगै थप सेवाका लागी प्रदेश सरकार आवश्यक पहल थाल्ने मुख्यमन्त्री शाहको भनाई थियो ।

चिकित्सालयमा बिरामीलाई निःशुल्क उपचार र औषधि वितरण गर्ने गरिएको छ । प्रदेश सरकारबाट ५० शैयाको स्वूकृति पाएको प्रादेशिक आयुर्वेदिक चिकित्सालयमा नयाँ वर्षबाट अन्तरङ्ग सेवा सुरु गर्ने योजना छ । चिकित्सालय ब्यवस्थापन समितिका अध्यक्ष नरेश बिष्टका अनुसार अहिले बहिरङ्ग, प्रयोगशाला र पञ्चकर्म–पूर्वकर्म, होमियोपेथी उपचार सेवा दिइ रहेको छ । प्रादेशिक आयुर्वेद चिकित्सालयबाट वाथ रोग, नसा च्यापिएको, हड्डी खिइएको, पक्षघात र छाला सम्बन्धि समस्या भएका बिरामीको उपचार हुने गरेको उनले बताए । निकट भविष्यमै फिजियोथेरापी, अकुपञ्चर र योग सेवा सञ्चालन हुने बताइएको छ ।

चिकित्सालयले स्वास्थ्य शिविर सञ्चालन गरेसंगै बिरामी आउने क्रमपनि बढेको जनाएको छ । दैनिक १ सय ५० भन्दा बढी बिरामीले चिकित्सालयबाट सेवा लिइरहेका छन् । आयुर्वेदिक चिकित्सालय सञ्चालन भएसंगै सहज किसिमको उपचार सेवा पाउने स्थानियको अपेक्षा छ । पञ्चकर्म–पूर्वकर्म बिधिबाट समेत उपचार शुरु भएपछि बिरामीको रोजाइमा आयुर्वेद पद्धती पर्ने बिश्वास लिइएको छ । अब यसै क्षेत्रमा आयुर्वेद प्रसोधन केन्द्रको समेत स्थापना गरी स्वास्थ्य संगै आर्थिक बिकासमा पनि लाग्नुपर्नेमा आम नागरिकको माग छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरमा रहेको आयुर्वेद चिकित्सालयले असोज ११ गते नयाँ भवनबाट सेवा सुरू गरेको थियो । गत कात्तिक २६ गतेबाट पहिलो पटक पञ्चकर्म–पूर्वकर्म विधिबाट उपचार सेवा सुरु गरेको चिकित्सालयमा हाल दैनिक १८० बढी बिरामी आउन थालेका छन् । चिकित्सालयले बिस्तारै सेवा थप्ने र आम नागरिकलाई आयुर्वेदिक उपचार तर्फ आकर्षण बढाउने जनाएको छ ।