शुक्लाफाँटामा थालियो फोहोर व्यवस्थापन केन्द्र निर्माण, भीमदत्तमा जग्गा नहुँदा बजेट फिर्ता
2023/04/05, 6:14
 
dd

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणको काम सुरु भएको छ। एसियाली विकास बैंकको ग्रामीण सहरी विकास परियोजना ९आरयूडीपी० अन्तर्गत झन्डै २७ करोडमा व्यवस्थापन केन्द्र निर्माण हुन लागेको हो।

नगरपालिकाको वडा नं। ११ स्थित श्रीकृष्ण सामुदायिक वनमा व्यवस्थापन केन्द्र निर्माण सुरु गरिएको छ । यसका लागि ५ हेक्टर वन क्षेत्रका ८ सय २१ रूख कटानका लागि डिभिजन वन कार्यालयले एक महिनाअघि नै कटान आदेश दिइसकेको छ । नगरपालिकाले फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणका लागि रमण केएस जेभीसँग २६ करोड ७७ लाखमा सम्झौता भएको छ । २० महिनामा निर्माण कार्य सक्ने गरी ०७९ जेठमा सम्झौता भएको हो । पहिलो चरणमा गत सातादेखि रूख कटानको काम सुरु भएको छ ।

सम्झौता भएको १० महिनापछि निर्माण कार्यले गति लिएको हो । वन क्षेत्रमा रूख कटानको समस्याका कारण ढिलो भएको निर्माण कम्पनीले जनाएको छ । अब फोहोर मैला व्यवस्थापन केन्द्रले गति लिने नगर प्रमुख रणबहादुर महराले बताए । शुक्लाफाँटामा आरयूडीपीका सबै कार्यक्रम सञ्चालनमा आएको उनले भने । अहिले नगरपालिकाको फोहोर कृष्ण सामुदायिक वनमा व्यवस्थापन गरिएको छ । नगरपालिकाको झलारी, कलुवापुर र वन समिति क्षेत्रबाट फोहोर संकलन हुने गरेको छ । केन्द्र निर्माणपछि ३०र४० वर्षसम्म फोहोर व्यवस्थापन गर्न सकिनेछ । मानव स्वास्थ्य र वातावरणलाई कुनै असर नपर्ने गरी निर्माण भइरहेको फोहोर मैला व्यवस्थापन केन्द्रलाई एक पर्यटकीय स्थलसमेत बनाउने योजना छ । उक्त क्षेत्रमा पार्कसमेत निर्माण गरिनेछ । यसले नमुना व्यवस्थापन केन्द्र निर्माण हुने प्राविधिकहरू बताउँछन्।

आरयूडीपीअन्तर्गत शुक्लाफाँटा नगरपालिकामा फोहोर मैला व्यवस्थापन केन्द्रसँगै साढे ४ किलोमिटर सडक र प्रशासनिक भवन निर्माणको काम पनि चलिरहेको छ । सडक र भवन निर्माणको काम अन्तिम चरणमा रहेको नगरपालिकाका इन्जिनियर दीपक धामीले बताए । उनका अनुसार ४ दशमलव ७७ किलोमिटर सडक निर्माणका लागि २७ करोड ८७ लाख र प्रशासनिक भवन निर्माणका लागि १० करोडमा ठेक्का भएको छ । ‘सडक र प्रशासनिक भवनको काम अन्तिम चरणमा  रहेको इन्जिनियर धामीले जानकारी दिए । दुवैको भौतिक प्रगति ९० प्रतिशतभन्दा बढी छ । सडक निर्माणका क्रममा केही घर परेका कारण ढिलाइ भएको थियो । घरहरू हटेपछि निर्माण कार्य अगाडि बढेको हो ।

कञ्चनपुरमा शुक्लाफाँटा नगरपालिकासँगै भीमदत्त नगरपालिकामा पनि आरयूडीपीको कार्यक्रम सुरु भएको छ । उक्त कार्यक्रमको पहिलो सर्त फोहोर मैला व्यवस्थापन हो । शुक्लाफाँटामा ढिलो गरी फोहोर मैला व्यवस्थापन केन्द्रको काम सुरु भए पनि भीमदत्तमा अझै सुरु हुन सकेको छैन । भीमदत्त नगरपालिकामा व्यवस्थापन केन्द्रसँगै झन्डै ३५ किलोमिटर स्तरीय सडकसमेत निर्माण हुनेछ । जसमध्ये एक अर्ब लागतमा १४ किलोमिटर सडक निर्माणाधीन अवस्थामा छ । परियोजनाको कुल बजेट पौने ३ अर्ब हो । नगरपालिकाले जमिन अभावका कारण फोहोर मैला व्यवस्थापन केन्द्रको काम अगाडि बढाउन सकेको छैन । फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण नभए बाँकी वजेट फ्रिज हुन सक्ने देखिएको छ।

लामो समयदेखी नगरपालिकाले फोहरमैला प्रशोधन केन्द्रका लागि उपयुक्त जग्गा भेट्टाउन नसक्दा प्रशोधन केन्द्र निमार्ण अन्योलमा छ । फोहरमैला प्रशोधन केन्द्र स्थापना गर्ने योजना भएपनि समयमा जग्गा उपलब्ध नहुँदा एडिबीको बजेट फिर्ता भएको नगरपालिकाका ईन्जिनियर हिमालय सिंह ऐरले जानकारी दिए । प्रशोधन केन्द्रका लागि एडीबीबाट रु ५० करोड बजेट आएको थियो नगरपालिकाले समयमा जग्गा उपलब्ध गराउन नसक्दा त्यो रकम फिर्ता भएको उनले बताए । अहिले नगरपालिका आफैले प्रशोधन केन्द्र निमार्णका लागि जग्गा खोजिरहेको र आफ्नै लगानीमा प्रशोधन केन्द्र बनाउनु पर्ने बताए ।

यसअघि नगरपालिकाले भीमदत्त नगरपालिकाको चुरेक्षेत्रमा प्रशोधन केन्द्र बनाउने भनेपनि स्थानीयको विरोधका कारण त्यहाँ प्रशोधन केन्द्र बन्न नसकेको हो । नगरपालिकाले जग्गा खोज्नका लागि यसअघि वडाध्यक्षको नेतृत्वमा समिति बनाएर समितिले प्रतिवेदन बुझाइसकेको छ । जग्गाको विषय र स्थान टुङ्गो नलाग्दा यहाँ प्रशोधन केन्द्र निर्माणमा ढिलाइ भइरहेको छ । महेन्द्रनगर बजारबाट मात्रै दैनिक ६ देखी सात टनसम्म फोहोर उठ्ने गरेको बताइएको छ ।