पालिकाका निर्माणाधीन आधारभुत अस्पताल भवन अलपत्र
2023/04/06, 6:48
 
ss

जग हालिएको छ । पिल्लर ठड्याइएको छ तर, तयार छैन । वरपर ईट्टा तथा सरियाहरु थुपारिएको छ वडीकेदार गाउँपालिका वडा नम्बर २ मा अल्पत्र अवस्थामा रहेको १० शैय्या आधारभुत अस्पतालको दृष्य हो । आर्थिक वर्ष २०७७/७८ असोजमा निर्माण सम्झौता भएको सो भवनको काम चालु आर्थिक वर्षको मसान्तसम्म रहेको थियो तर, निर्माण कम्पनिले काम नगर्दा भवन अल्पत्र बनेको स्थानीयहरु बताउँछन् ।

बडीकेदारस्थित अस्पतालमात्र होइन् सुदूरपश्चिम प्रदेशमा संघिय सरकारबाट बनिरहेका आधारभुत अस्पतालका कामहरु समयमै सम्पन्न हुन सकेका छैनन् । केपी ओली सरकारले १७ मंसिर २०७७ मा अस्पताल नभएका तीन सय नौ स्थानीय तहमा ५, १० र १५ शय्याका तीन सय ९६ वटा आधारभूत अस्पताल एकै पटक शिलान्यास गरेको थिए । जसलाई दुई वर्षभित्रमा बनाइ सक्ने बताइएको थियो । तर, समयावधि नाघ्दा समेत कुनै पनि अस्पताल पुरा भएका छैनन् । सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७७र७८ मा ३१ वटा १० शय्याका अस्पताल र २३ वटा १५ शय्या अस्पताल निमार्ण गर्ने भनिएको छ । त्यसमध्ये डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको १० शय्याको अस्पताल अन्तिम चरणमा पुगेको जनाइएको छ ।

आर्थिक वर्ष २०७८र७९ मा प्रदेशमा ५, १० र १५ अस्पताल निर्माण गर्ने भन्दै १० शैय्याका सात, १० शैय्याका ११ र पाँच सयका चार वटा आधारभुत अस्पताल बनाउने कार्य अघि बढाएको थियो । बडीकेदार गाउँपालिका वडा नम्बर २ की वडा सदस्य तारा नाम्जालीले स्वास्थ्य भवन समयमा बन्न नसकेको बताईन् । उनले भनिन –‘स्वास्थ्य चौकी नहुँदा सामान्य उपचारका लागि पनि अन्यत्र जानुपर्ने अवस्था रहेको छ । निर्माणाधिन भवन समयमै सम्पन्न भएको भए यहाँका स्थानीयहरुलाई सहज हुने थियो ।’

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिलाराज भट्टले चौकीको भवन निर्माण मसान्तसम्म भईसक्नुपर्नेमा विविध कारणले सम्पन्न हुन नसकेको बताए । उनले असोजमा सम्झौता भएपनि जग्गा विवादका कारण केही समय काम हुन नसकेको बताए । उनले अहिले निर्माण कम्पनिले थोरै काम गरेर सम्पर्कविहिन बनेको बताए । उनले भने –‘बहुवर्षिय योजना हो । मसान्तसम्म काम हुन नसकेपछि अर्को मसान्तसम्मका लागि म्याद थप गरिएको छ ।’

निर्माण कम्पनिले भवन निर्माण गर्न पेश्की स्वरुप एक करोड रकम लिएको बताए । उनका अनुसार सो चौकी संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटाबाट निर्माण हुन लागेको हो ।