मुख्यमन्त्री शाह उद्घाटन र काठमाण्डौं धाउनमै व्यस्त
2023/04/07, 11:44
 
ss

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह मुख्यमन्त्री पदमा नियुक्त भएको दुई महिना पुग्यो । यो अबधिमा मुख्यमन्त्री शाह दुई वटा कुरामा व्यस्त रहे । पहिलो, उद्घाटन । र, दोस्रो, काठमाण्डौं धाउन ।

दुई महिनामा एक महिना उनले काठमाण्डौं धाउदा धाउदै बिताए । एक महिनामा पनि अधिकांश समय उद्घाटनमै बिताए । हुदा हुदा वडा कार्यालयसम्मको उद्घाटन गर्नसम्म भ्याए । शाहले एक साताअघि अछामको पञ्चदेवल बिनायक नगरपालिकाको वडा नम्बर १ कुईकाको कार्यालय उद्घाटन गरेका थिए । साथमा भौतिक पूर्बाधार मन्त्री प्रकाश बहादुर देउवा पनि थिए ।

सरकारलाई पूर्णता दिने विषयमा सत्ता साझेदार दलहरुबीच यो अबधिमा एक पटक मात्र बैठक बस्यो, सत्ता साझेदार दलका एक सांसद भन्छन्, प्रदेशमा सरकार विस्तारका विषयमा छलफल गर्नेभन्दा पनि मुख्यमन्त्री काठमाण्डौंमा केन्द्रीय स्तरका नेताहरुसंग छलफलमा रुचि राख्छन् ।

विश्वासको मत प्राप्त नगर्दासम्म मुख्यमन्त्री शाह विश्वासको मत प्राप्त गर्ने कसरतमा काठमाण्डौं पुग्थे । थुप्रै पटक शाह काठमाण्डौंको डिल्लीबजारस्थित कारागारमा रहेका रेशम चौधरीलाई मनाउन पुगे । कतिसम्म भने मुख्यमन्त्री चयन भएको भोलिपल्ट मुख्यमन्त्री शाह आशिर्वाद लिन चौधरीकी आमालाई भेट्न उनकै घर पुगेका थिए ।

सुदूर पश्चिम प्रदेश सरकारका तीन महिना बिति सके । यो दुइ महिनामा सचिवालय समेत चुस्त र व्यवस्थित बनाउन सकेका छैनन । शुरुमा मुख्यमन्त्री बनेका नेकपा एमालेको संसदीय दलका नेता राजेन्द्र बहादुर रावलको एक महिना पनि काठमाण्डौं धाउदै बितेको थियो । विश्वासको मत जुटाउन उनी पनि पटक पटक डिल्लीबजार कारागार पुगे । रेशमलाई भेटे । तर विश्वासको मत पाएनन । र, विश्वासको मत नपाएपछि सरकारबाट बाहिरिएका रावलको एक महिना पनि केही काम नगरी बित्यो ।

त्यसपछि मुख्यमन्त्री बनेका शाहले पनि दुई महिना बिताईसकेका छन् । तर यो अबधिमा न त सरकारलाई पूर्णता दिन सकेका छन् । न त सरकारलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने संयन्त्र नै बनाउन सकेका छन् । सबै कुरा केन्द्रबाट हुने बताएर मुख्यमन्त्री शाह प्रदेशमा सत्ता साझेदार दलहरुसंग संवाद गर्न पञ्छिने गरेको सत्ता साझेदार दलका नेताहरु बताउछन् ।  मुख्यमन्त्री शाहसंगै भौतिक पूर्बाधार विकास मन्त्री देउवाको समेत अधिकांश समय उद्घाटनमा बित्ने गरेको छ ।