बझाङका ३ पक्की पुल अलपत्र, ठेकेदार सम्पर्क विहीन
2023/04/08, 12:35
 
ss

 ठेकेदारको लापरबाहीका कारण बझाङको सेति लोगमार्गमा बन्न लागेका तीन वटा पक्की पुल निर्माण कार्य अलपत्र छन् । ठेक्का लिने र समयमा काम नगरी ढिला सुस्ती गरेका कारण यो अवस्था आएको हो । जिल्लाको खप्तडछान्ना गाउँपालिका अन्तर्गत सेती लोगमार्गले निर्माण गर्न लागेका ३ वटा पक्की पुल मध्ये एक वटा पक्की पुलको मात्रै काम सुरु भएको छ । २०७५ सालमा टेन्डर भएर काम सुरू गरेका निर्माण कम्पनीको लापवार्हीका कारण पुलहरू अलपत्र परेको स्थानीयको गुनासो छ ।

खप्तडछान्ना गाउँपालिका–७ मा पर्ने विजाडी गाडमा बन्न लागेको पक्की पुलको काम अन्तिम चरणमा भएपनि ठेकेदार सम्पर्क विहीन भएका कारण यहाँका स्थानीयहरू समस्यामा परेका छन् । यो पुलमा काम गर्ने मजदुरहरुले समेत रकम पाएका छैनन् । स्थानीय बासिन्दा ज्ञान बहादुर रोकायाले भन्नुभयो, ‘हामीले अहिलेसम्म काम गरेको रकम पनि पाएका छैनौ । गिट्टी कुटेको, बालुवा बोकेको अर्थात मजदुरी गरेकाहरु कसैले पनि अहिलेसम्म पैसा पाएका छैनन् । उल्टै ठेकेदारले स्थानीयबाट पैसा सापट लिएर सम्पर्क विहीन भएको छ ।’

उक्त पुलको ठेकेदार अमर कन्ट्रक्सनका संचालक भद्र शाही यति खेर सम्पर्क बिहीन छन् । आफू जिम्मेवारी भएर बाजुराको बुढीगंगाबाट बालुवा र गिट्टी ओसारेको ट्याक्टरको झण्डै ३ लाख र आफुनो ट्रकबाट धनगढीदेखी सामान ओसारेको झण्डै १२ लाख आफूले लिनु बाँकी रहेको विर बहादुर रोकायाले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बाजुरामा एक हप्ता अघि मात्रै ट्याक्टर चालकहरुले मेरो ट्रकको चाबी थुतेका थिए । मेरो आफ्नै पैसा त असुल्न बाँकी छ । आफू जिम्मेवारी भएर ल्याएका ट्याक्टर साहुहरुको ३ लाख कसरी तिर्ने रु नभए मलाई त्यहाँका स्थानीयले खबरदारी गर्दै आएका छन् । यता ठेकेदार र साईड हेर्ने ब्यक्तिलाई सम्पर्क गर्दा सम्पर्क विहीन बनेका छन् ।’

पुल समेत पूर्ण भएको छैन । काम गर्न अझै बाँकी छ । तर ठेकेदार सम्पर्कमा नै नआएकोले आफू समस्यामा परेको उहाँले बताउनुभयो । यस पुलको विषयमा सेती लोगमार्गका प्रमुख रमेश भटराईले आफुहरुसँग ठेकेदार सम्पर्कमा रहेको बताउँदै अबको केही समय भित्र पुलको काम गर्न आफुले निर्देशन दिएको बताउनुभयो ।

उहाँले भने, ‘उक्त पुलको सबै भन्दा बढी प्रगती भएको देखिन्छ । ठेकेदारले पुलको काममा आफूले मनोमानी गरेका कारण केही काम फेरि गर्नु पर्ने भएका कारण समस्या सृजना भएको हो । तर, मजदुरले रकम पाए नपाएको विषयमा आफूलाई कुनै जानकारी छैन् ।’

केही दिन भित्र काम सुरु नगरे आवश्यक कार्वाहीका लागी सेती लोगमार्गले प्रकृया अघि बढाउने उहाँले जानकारी दिनुभयो । यस्तै, खप्तडछान्ना गाउँपालिका–१ र २ मा निर्माण हुन लागेको कालिपछाईको पक्की पसल निर्माण गर्ने जिम्मा राईमाझी द क्यारावान निर्माण सेवाले ५ करोडमा पाएको थियो ।

२०७५ सालमा पाएको ठेक्का हालसम्म ४० प्रतिशत मात्रै काम भएको छ । गत बर्ष कार्तिकमा आएको बाढीले उक्त पुल नै अलपत्र पारेपछी ठेकेदार कम्पनीका ब्यक्तिहरुले सम्पर्क विहीन अवस्थामा रहेको यहाँका स्थानीय बासिन्दाले बताएका छन् ।

उक्त पुलको काम पनि अलपत्र अवस्थामा छ । तमैल नजिकै जराडी गाडमा बन्न लागेको अर्को पक्की पुलको जिम्मा भने कम्पाचे शेर्पा टिडीआरले ६ करोड ५० लाखमा ठेक्का हात पारेको थियो । उक्त पुलमा अहिले काम सुरू भएको भएपनि यस पुलको प्रगति भने पनि ४० प्रतिशत मात्रै रहेको छ । यहाँका पक्की पुलहरु अलपत्र पर्दा ओहोरदोहोर गर्ने बाटोको समेत समस्या रहेको छ ।

यी पुलको अनुगमन प्रतिनिधि सभा सदस्य भानुभक्त जोशी, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय, गाउँपालिकाका प्रमुख उप प्रमुखहरुले समेत गरेका थिए । प्रतिनिधि सभा सदस्य भानुभक्त जोशीले यी पुलहरुलाई जति सक्दो चाँडो पूरा गर्नका लागि आफूले सम्बन्धित निकायसँग पहल गरेको र यदी काम नगर्ने अनि ठेक्का ओगट्ने कम्पनीलाई कार्वाहीको दायरामा ल्याउनका लागि निर्देशन समेत दिएको बताउनुभयो ।

यस्तै, प्रमुख जिल्ला अधिकारी पाण्डेयले सेती लोगमार्गका कार्यालय प्रमुखसँग सम्र्पक गरेर यी पुलहरुको काम र खप्तडछान्ना गाउँपालिकामा बाटो सुचारुको कामको विषयमा छलफल भै आवश्यक प्रकृया अघि बढाउन भनेको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष उत्तम बहादुर रोकायाले सेती लोगमार्गका कार्यालय प्रमुखसँग सम्पर्क गरेर मजदुरको रकम असुली, पक्की पुल अलपत्र परेको विषय र खप्तडछान्ना गाउँपालिकामा यो बर्खामा बाटो सुचारको विषयमा कुरा भई आवश्यक काम अघि बढाएको बताउनुभयो ।

सेती लोगमार्गका कार्यालय प्रमुख रमेश भटराईले यी सबै पुलहरु समयमा नै सम्पन्न नगरे आवश्यक कार्वाहीका साथ अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘खप्तडछान्नामा गत बर्ष आएको बाढीले सबै बाटोघाटो जग्गा जमिनको क्षेदविच्छेद गरेको छ । काम गर्न चुनौत छ । तर पनि काम सुरू गरेर यस वर्ष मानिस ओहोर दोहोर गर्ने बाटोसम्म सुचारु गरी राख्नका लागि सडक कटानको प्रकृया तथा टेन्डर प्रकृया अघि सारी सकेको र केही समयमा नै काम सुचारु हुन्छ ।’