रिङरोडमा कालोपत्रे गरेको एक हप्ता नबित्दै झार उम्रियो
2023/04/08, 12:40
 
ss

कैलालीको घोडाघोडी नगरपालिकामा–१, घोडाघोडी गाउँमा रिङरोड कालोपत्रे गरेको एक हप्ता नबित्दै झार उम्रियो। सडकमा झार उम्रिएको हल्ला फैलिएपछि निर्माण कम्पनीका कर्मचारीले झार मार्ने विषादी छरेर फरार भएका थिए।  पूर्व–पश्चिम राजमार्गको घोडाघोडीदेखि कैलाशपुरसम्म निर्माण भएको कालोपत्रे सडकमा झार उम्रिएपछि स्थानीयले गुणस्तरमाथि शङ्का गर्दै पुनः निर्माणको माग गरेका छन्। 

स्थानीय पर्शुराम आचार्यले सडक कालोपत्रे गर्दा स्टिमेटअनुसार नगरेको बताए। उनले भने, “स्टिमेटअनुसार गरेको भए किन झार उम्रिन्थ्यो, कोलोपत्रेको बेस पातलो हालेर ठेकेदारले जनतालाई धोका दिने काम गरेको छ, नगरपालिकाले जवाफ दिनुपर्छ।” सङ्घीय सरकारको लगानीमा निर्माण भएको सडकमा गुणस्तरहीन सामग्री प्रयोग हुँदा झार उम्रिएको बताइएको छ। कालोपत्रे गरेको एक हप्तामै सडकमा झार उम्रेको हल्ला फैलिन थालेपछि ठेकेदारले आफ्नो कमजोरी लुकाउन झार मार्ने औषधि छर्केका छन्। स्थानीय कलुदेवी विकले दुईजना मानिस मोटरसाइकलमा आएको बताउँदै पछाडि बसेका व्यक्तिले झार उम्रेको ठाउँमा औषधि छर्केर गएको बताए । अहिले हरियो झार पहेँलो भएर सुकेको देखिन्छ।

घोडाघोडी नगरपालिकाका प्रमुख खडकबहादुर रावतले स्टिमेटअनुसार काम नभएको भए ठेकेदारले पुनः निर्माण गर्नुपर्ने बताउनुभयो। उहाँले जबसम्म गुणस्तरीय काम हुँदैन तबसम्म भुक्तानी नहुनेसमेत बताए । निराजन कन्स्ट्रक्सन निर्माण कम्पनीले तीन किलोमिटरको रिङरोड सडक कालोपत्रे गर्न, शिवगङ्गादेखि वडा नम्बर ९ सम्मको छ सय मिटरको सडक कालोपत्रे गर्न र डोके बजारदेखि दक्षिण जाने सडक कालोपत्रे गर्नका लागि दुई करोड नौ लाख ९३ हजार ५८६ रुपियाँ ठेक्कामा काम गरिरहेको छ। पूर्व–पश्चिम राजमार्गको घोडाघोडीदेखि कैलाशपुरसम्मको छ सय मिटर सडक कालोपत्रेको काम हालै सकेको छ। सडक बने पनि गुणस्तरहीन निर्माणले सडक चाँडै भत्कने भन्दै स्थानीयले गुनासो गरेका छन्।

बहुवर्षीय योजनाअन्तर्गत राष्ट्रिय योजना आयोगबाट १० करोड रुपियाँको बजेटमा रिङरोड निर्माणको काम हुँदै आएको छ। २०७७ सालदेखि निर्माण सुरु भएको रिङरोडको क्षेत्रफल १३ किलोमिटर रहेको छ। पहिलो वर्षमा तीन किलोमिटर वडा नम्बर १ को माछापोखरी, लिटिल चोक, पीपलडाँडा हुँदै बेलारसम्म पहिलो चरणमा रिङरोडको काम पूरा भएको हो।   नारायण रेखा निर्माण कम्पनीले २०७८ साल पुस ६ गतेसम्म पूरा गर्ने गरेर २०७७ मङ्सिर २५ गते सम्झौता गरेर निर्माण पूरा गरेको थियो। पहिला पनि रिङरोड निर्माणमा कमसल सामग्री प्रयोग गरिएको भन्दै स्थानीयले विरोध जनाएपछि ठेकेदारले केही समय काम रोक्नुपरेको थियो।