सुदूरपश्चिममा ह्वात्तै बढ्यो कोरोना, दुई सातामै ९७ जना सक्रिय संक्रमित
2023/04/08, 12:41
 
ss

सुदूरपश्चिममा कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो दुई सातामा सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या ९७ पुगेको छ । सुदूरपश्चिममा चैत १० गतेसम्म कोरोना संक्रमितको संख्या शून्य थियो । दुई हप्ता नपुग्दै संक्रमितको संख्या एक सय पुगेको छ।

नयाँ वर्ष र बिसु पर्व मनाउन सुदूरपश्चिमेलीहरू छिमेकी भारतबाट धमाधम घर फर्किंदैछन् । भारतमा संक्रमित भएर फर्किनेको संख्या बढ्न थालेपछि सुदूरपश्चिममा पनि कोरोना संक्रमण तीव्र भएको हो ।सीमा क्षेत्रमा कोरोना पोजेटिभ भेटिएकालाई पनि सिधै घर पठाइन्छ। उनीहरूलाई होम आइसोलेसनमा बस्न सुझाव दिइन्छ । सार्वजनिक बस चढेरै उनीहरू गाउँ फर्किने गरेका छन् । त्यसकारण गाउँगाउँमा कोरोना फैलिने सम्भावना बढेको छ । कैलालीको गौरीफन्टा नाकामा पछिल्ला १५ दिनमा एन्टिजेन परीक्षणबाट ६१ जनामा कोरोना संक्रमण भेटिएको छ । गौरीफन्टा नाकाको हेल्थ डेस्कका इन्चार्ज गणेशबहादुर साउदले चैत १० गते यता कोरोनाका बिरामीको संख्या बढेको बताए ।

‘हरेक दिन ४र५ जनामा कोरोना पोजेटिभ देखिँदै आएको थियो,’ साउदले भने, ‘बिहीबारबाट दोब्बरले बढेको छ । बिहीबार ४ सय १८ जनाको एन्टिजेन परीक्षणमा ९ जना र शुक्रबार अपराह्नसम्मको २ सय ५४ जनाको एन्टिजेन परीक्षणमा १२ जनामा कोरोना पोजेटिभ देखिएको छ ।’ कामका लागि भारतका विभिन्न सहरमा रहेका सुदूरपश्चिमका बासिन्दाहरू नयाँ वर्ष र बिसुुुपर्व मनाउन घर फर्किने क्रम बढेको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा बलको तथ्यांकअनुसार कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट दैनिक दुई हजार जना स्वदेश फर्किन थालेका छन् । तर दुवै नाकामा ७÷८ सय जनाको मात्रै एन्टिजेन परीक्षण भइरहेको छ ।

खेतीपाती भित्र्याउने र पर्वको बेला भएकाले मौसमी कामका लागि भारत पसेकाहरू घर फर्कन थालेका हुन् । कात्तिकमा दसैंतिहार मनाएर गहुँबाली छर्केपछि चाररपाँच महिनाका लागि यहाँका युवाहरू काम खोज्न भारत जाने गर्छन् । उनीहरू नयाँ वर्ष र बिसुुु पर्व मनाउन तथा खेतीपाती भित्र्याउन फर्किन थालेका हुन् । कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी र बेलौरी, दार्चुलाको पुलघाट र बैतडीको झुलाघाट नाकामा प्रदेश सरकारले हेल्थ डेस्क राखेको छ । हेल्थ डेस्कमा भारतबाट फर्किनेहरूको एन्टिजेन परीक्षण गरिन्छ ।

‘चैत ९ पछि कोरोनाका संक्रमित भेटिन थालेका हुन्,’ कञ्चनपुरको गड्डाचौकीस्थित हेल्थ डेस्ककी इन्चार्ज प्रति बोहराले भनिन्, ‘भारतबाट फर्किनको संख्या बढिरहेको छ । एन्टिजेन परीक्षण पनि बढाएका छौं ।’ लक्षण देखिएकाहरूलाई मात्रै सेती प्रादेशिक अस्पतालमा पठाउने गरिएको गौरीफन्टा डेक्स इन्चार्ज साउदले भने । अहिलेसम्म लक्षण देखिएका भने नभेटिएको साउदले बताए । ‘मास्क र सेनेटाइजर दिएर घर पठाइरहेका छौं,’ उनले भने, ‘घरमै आइसोलेसन बस्न आग्रह गरिरहेका छौं ।’

भारतबाट फर्किनले कोरोना परीक्षण गर्न नै नमान्ने गरेको गौरीफन्टा नाकाका हेल्थ डेस्कका कर्मचारीहरू बताउँछन् । ‘हामीहरू डेस्कभित्र हुन्छौं, नाकामा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीले डेस्कभित्र पठाई दिनुपर्छ । सीमा नाकामा यात्रु बोक्ने अटो चालकहरूले यात्रुको झोला समातेर लगिदिन्छन्, सबैलाई हतार हुन्छ, त्यसैले भारतबाट फर्केका आधा मानिसहरू पनि परीक्षणको दायरामा आउँदैनन्’ हेल्थ डेस्कका कर्मचारीले भने । कोरोना बढन थालेपछि प्रदेश सरकारले पनि सीमामा सतर्कता अपनाउन थालेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा। जगदीश जोशीले सीमा नाकाहरूमा एन्टिजेन कीटहरू पर्याप्त पठाएको बताए । ‘एन्टिजेन कीट, मास्क, सेनेटाइजर पठाएका छौं, डा। जोशीले भने, ‘सीमा नाकामा सचेतना कार्यक्रमहरू गरिरहेका छौं ।’