महाकाली अस्पतालमा सुरु भयो डायलसिस सेवा, धनगढी आउने-जाने झन्झट हट्यो
2023/04/09, 12:01
 
ss

कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा डायलासिस सेवा सुरु भएको छ । उपकरणहरू जडान भएपनीे लामो समयपछि सञ्चालनमा आउन नसकेको उक्त सेवा शुक्रबारदेखि सुरु भएको हो ।

शुक्रबार स्वास्थ्य सेवा विभागको टोलीले अस्पतालमा डायलसिस सेवाको अनुगमन गरेका थिए । डायलासिस सेवा सुरु नहुँदा धनगढी आउने जाने झन्झट अनि पालो कुर्नुपर्ने बाध्यता लगायतले बिरामीले निकै सास्ती पाउने गरेका थिए । डायलासिस सेवा सूरु भएपछि महाकाली अस्पतालमा डायलासिस गर्ने बिरामीले अब सेती प्रादेशिक अस्पताल धनगढीसम्म आउनुपर्ने बाध्यता हट्ने बिश्वास लिइएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १० तिलकेनीका नन्दराज जोशी तीन वर्षदेखि मिर्गौला बिरामी रहेको र सेवाका लागी सेती प्रदेशिक अस्पतालमा डायलसिस गराउँदै आएका थिए । उनले महाकाली प्रादेशिक अस्पतालमै सेवा पाएपछि सहज भएको भन्दै खुसी भएको बताए । कञ्चनपुरका मिर्गौला बिरामीहरू डायलसिसका लागि धनगढी वा सीमावर्ती भारतीय बजारतर्फ जानुपर्ने बाध्यता रहेको छ ।

अहिले डायलसिस गराउनेको संख्या ४० भन्दा बढी छ । सेती प्रादेशिक अस्पतालमा डायलसिसका लागि भीड लाग्ने गरेका कारण पालो पाउनै मुस्किल हुने गरेको बिरामीहरू बताउँने गरेका छन्। महाकाली प्रादेशिक अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट डा. अर्जुन भट्टले धेरै समयपछि सेवा सुरु गरिएको बताए । उनले डायलसिस सेवाका लागि ५ बेडको व्यवस्था गरिए पनि पहिलो चरणमा दुई बेडबाट दैनिक २ जनालाई सेवा दिने लक्ष्य रहेको बताए । स्वास्थ्य सेवा विभागको टोलीले अनुगमन गरेर सेवा सुरु गर्ने अनुमति दिए पनि सूचीकृत हुन नसकेकाले तत्काल पूर्ण रूपमा सेवा सञ्चालन गर्न नसकिने समेत बताए ।

अहिले अस्पतालका तर्फबाट सेवा दिइरहेकाले निःशुल्कका लागि विभागमा सूचीकृत हुनुपर्ने बताए। सूचीकृत भएपछि पूर्ण रूपमा सेवा सुरु हुने डा। भट्टको भनाई छ । सूचीकृत भएपछि दैनिक ५ जनालाई सेवा दिन सकिने र एक पटक डायलसिस गर्न कम्तीमा ४ घण्टा समय लाग्ने गरिएको उनको भनाई छ। स्वास्थ्य मन्त्रालयका वरिष्ठ नेफ्रोलोजिस्ट डा। जुजुराज श्रेष्ठ र स्वास्थ्य सेवा विभागका डा. खगेश्वर गेलालले डायलसिस सेवाका लागि जडान गरिएको उपकरण लगायत भौतिक अवस्थाको अनुगमन गरेका थिए। श्रेष्ठ र गेलालकै उपस्थितिमा शुक्रबार एक जनाको डायलसिस पनि गरिएको छ।

डायलसिस सेवाका लागि एक वर्षअघि उपकरण ल्याइएको थियो । जडान गरेको पनि झन्डै ६ महिना पुग्यो । डाक्टर भर्नादेखि जनशक्तिलाई तालिम दिने काम यसअघि भइसकेको थियो । विभागको टोलीले अनुगमन नगरेका कारण सेवा शुरु हुन सकेको थिएन । महाकाली प्रदेशिक अस्पताल विकास समितिका अध्यक्ष कृष्णनन्द भट्टले अहिले अस्पतालकै खर्चमा सेवा दिइरहेको बताए । उनले सूचीकृत भएपछि विभागले खर्च व्यहोन र त्यतिबेलासम्म दैनिक २ जनालाई सेवा दिने जानकारी दिए ।