कैलाली कञ्चनपुरमा बाघको त्रास बढेपछि क्यामेरा जडान
2023/04/09, 12:03
 
ss

भारतको दुधुवा राष्ट्रिय निकुञ्ज छेउका बस्तीमा नियमित रूपमा बाघ देखिन थालेपछि पहिचानका लागि स्वचालित क्यामेरा जडान गरिएको छ । पछिल्लो एकरडेढ सातामा नियमित बाघ देखा परिरहेको क्षेत्रमा क्यामेरा जडान गरिएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमको सहायोगमा डिभिजन वन कार्यालयले स्वचालित क्यामेरा जडान गरेको छ । एक सातासम्म उक्त क्षेत्रमा क्यामेराहरू राखिनेछन् । अहिले क्यामेराको नियमित अनुगमन भइरहेको सव डिभिजन वन कार्यालय कुण्डाका प्रमुख सहायक वन अधिकृत दिनेश यादवले बताए ।

‘बाघ दुधुवाबाट आएको हो वा शुक्लाफाँटाबाट पहिचान गर्नका लागि क्यामेरा जडान गरिएको हो,’ उनले भने, ‘उक्त क्षेत्रमा बाघको विचरण कस्तो छ भनेर पत्ता लगाउन पनि सहज हुन्छ ।’ त्यसकै आधारमा डिभिजन वन कार्यालयलाई रणनीति बनाउन सहज हुने उनले बताए । अहिले पुनर्वास र बेलौरी नगरपालिकाका विभिन्न क्षेत्रमा देखिइरहेको बाघ कुन अवस्थामा छ भन्ने पनि स्वचालित क्यामेराबाट थाहा पाउन सकिने यादवको भनाइ छ । अहिले पुनर्वास र बेलौरीमा देखिएको बाघ एउटै हो र फरक फरक हो भन्ने पनि पहिचान हुने उनले बताए ।

लालझाडी मोहना करिडोरमा पर्ने पुनर्वास नगरपालिका ११ को गंगा जमुना सामुदायिक वन र धनगढी उपमहानगरपालिका ३ मा स्वचालित क्यामेराहरू जडान गरिएको छ । यसैगरी बेलौरी नगरपालिका २ थापा चोकमा पनि एक जोडी क्यामेरा जडान भएको छ । उक्त स्थानमा क्यामेराहरू एक सातासम्म राखिनेछ । बाघको अनुगमनका लागि गंगा जमुना सामुदायिक वनमा शुक्रबार नै एक चितुवाको तस्विर कैद भएको सहायक वन अधिकृत यादवले बताए । पछिल्लो एकरडेढ हप्तादेखि पुनर्वास र बेलौरीमा दिउसै वस्तीमा बाघ देखा परिरहेको छ ।

जसका कारण स्थानीय त्रसित भएको छन् । गत साता घाँस दाउराका लागि दुधुवा राष्ट्रिय निकुञ्जमा गएकी पुनर्वास नगरपालिकाकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।यसैगरी भारतीय क्षेत्रमा पनि बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको थियो । त्यसपछि निकुञ्जसँग जोडिएका बस्तीमा नियमित रूपमा बाघ देखा परिरहेको छ । जसका कारण स्थानीय दिउँसोमा समेत एक्लै हिँडडुल गर्न डराइरहेका छन् । खेतबारीमा दिउँसै बाघ हिँडिरहेको स्थानीयले भिडियोसमेत बनाएर सामाजिक सञ्जालमा अपलोड गरेर सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।