बैतडीको पुर्चौंडी दुई महिनादेखि ‘हाकिम’विहिन
2023/04/09, 12:05
 
ss

बैतडीको पुर्चौंडी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार ठप्प भएको छ । गएको दुई महिनादेखि पुर्चौंडी नगरपालिका ‘हाकिम’विहिन भएको हो । प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर नेपाली कर्मचारी भर्नामा विवाद भएपछि बिदामा बसेका थिए ।

गएको फागुनदेखि बिदामा बसेका नेपाली नगरपालिकामा फर्केका छैनन् भने मन्त्रालयले राजेन्द्रप्रसाद पौडेललाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको छ । पौडेल पनि अहिले सम्म नगरपालिकामा हाजिर भएका छैनन् । उपसचिव पौडले वैशाख पहिलो साता प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर हुने पुर्चौंडी नगरपालिकाकी उपप्रमुख मीना धानुकले बताइन् ।

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज ठप्प भएको छ । आर्थिक कारोबार नहुँदा धेरै जसो काम रोकिएका छन् । यद्यपि योजना सम्झौता र अन्य नियमित काम भइरहेका पुर्चौंडी नगरपालिका वडा नं १ का वडा अध्यक्ष गणेश गडालले बताए । पुर्चौंडी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या भएको नगरबासीहरुले बताएका छन् । कार्यालयमा हाकिम नहुँदा विभिन्न काममा समस्या झेल्नुपरेको स्थानीयहरुले गुनासो गरेका छन् ।

वैशाख पहिलो साता जसरी पनि प्रमुख प्रशासकीय अधिकृत हाजिर हुने उपप्रमुख धानुकले दाबी गरिन् । उनले भनिन् ‘प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या भएको छ । यसै कामको लागि म काठमाण्डौंमा छु । वैशाख पहिलो साता प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन्छन् ।’ यस्तै जिल्लाको सिगास र शिवनाथ गाउँपालिकामा पनि प्रमुख प्रशासकीय नहुँदा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नभएका पालिकाहरुमा कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता, विकास निर्माणका कामहरु ठप्प भएका छन् ।