कैलालीमा सेउला लिन जङ्गल गएका आमाछोरीलाई चितुवाले घेरेपछि........
2023/04/10, 1:46
 
ss

कैलालीमा सेउला लिन जङ्गल गएका दुई आमाछोरी रुख चढेर चितुवाबाट बचेका छन् । घोडाघोडी नगरपालिका –२ साँडेपानीका जनकला शाही र उहाँकी छोरी भूमिका शाही आइतबार सेउला सोहोर्न नजिकै रहेको चिडिया ताल सामुदायिक वनमा जानुभएको  थियो । 

सेउलाको भारी बनाउँदै गर्दा एक्कासि चितुवा देखेपछि जनकलाले हतारहतार छोरीलाई आफूतिर तानेर नजिकै रहेको रुखमा चढेको बताइन। जनकलाले कापी रहेको स्वरमा भनिन् ‘‘छोरीले मम्मी बाघ आयो भन्दाभन्दै नजिकै आउन लाग्यो, हतारहतार छोरीलाई तानेर नजिकै रुखमा चढाएँ अनि म पनि चढेँ, रुखबाट अर्को पनि डाँडाबाट आउन लागेको देखेँ ।’’

दुई वटा चितुवा आफ्नो नजिकै आउँदै गरेको देखेपछि अत्तालिँदै जनकलाले १०० मा फोन लगाउनुभयो । त्यहाँबाट इलाका प्रहरी कार्यालय सुखडको नम्बर पाएपछि प्रहरीलाई फोन गरी बोलाएको उनले बताइन् । करिब एक किलो मिटर दूरीमा प्रहरी कार्यालय रहेकाले खबर पाउनासाथ प्रहरी पुगेको थियो । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी वीरेन्द्र विकले ‘बाघले हामीलाई घेर्‍यो हामीलाई बचाउनुस्’ भन्दै अतालिँदै फोन आएपछि आफूहरू पाँच छ मिनेटमा जङ्गलमा पुगेको बताए । प्रहरी टोली साइरन बजाउँदै जङ्गल पुगेपछि चितुवा भागेको थियो । 

चिडिया ताल सामुदायिक वन महेन्द्र राजमार्गसँग जोडिएको सुखड बजार नजिकै छ । स्थानीयहरू रुखबाट झरेको स्याउला मलको रूपमा प्रयोग गर्न गर्मी समयमा जङ्गल जाने गर्दछन् ।   प्रमुख डिएसपी विकले एक्लै सामुदायिक वनमा घाँस, स्याउला लिन नजान आग्रह गरे । उनले स्थानीयलाई यतिखेर वनजङ्गलमा जङ्गली जनावरको आवतजावत बढेको बताउँदै सजकता अपनाउन अनुरोध गरे।

जनकलाले चलाखी अपनाउँदै रुखमा चढेर तत्काल फोन गरेकाले उनको उद्धार भएको बताउँदै कुनै आपत् विपत् परे प्रहरीलाई खबर गर्न समेत उनले आह्वान गरे ।   समयमै प्रहरीलाई खबर भएकाले पनि जनकला र भूमिका ठुलो दुर्घटनाबाट बच्नु भएको छ । जनकलाले समयमै प्रहरी पुगेर ज्यान जोगाएकोमा प्रहरीलाई धन्यवाद दिइन।