सिटीहल निर्माणको १० महिना बित्दा पनि प्रयोगविहीन
2023/04/10, 1:55
 
ss

धनगढी,२७ चैत । कैलालीको धनगढी उपमहानगरपालिका–८ मा निर्माण गरिएको सिटी हल भवन निर्माण सम्पन्न भएको १० महिना बित्दा पनि प्रयोगमा आउन सकेको छैन  । तयार भएको सिटी हल सञ्चालन गर्न निर्देशिका नबन्दा प्रयोगमा आउन नसकेको हो ।

 सङ्घीय योजना कार्यान्वयन ईकाइ कार्यालय धनगढीले केन्द्रीय विभागबाट हल सञ्चालनका लागि स्थानीय तहलाई हस्तान्तरण गर्न निर्णय गर्न बाँकी रहेकाले प्रयोगमा आउन नसकेको जनाएको छ। २८ करोडमा निर्माण भएको सिटी हल प्रयोगमा नल्याई अहिले ताला ठोकिएको छ।सुदूरपश्चिमको व्यापारिक, राजनीतिक र अन्य दृष्टिकोणबाट पनि केन्द्रका रूपमा रहेको धनगढीमा बैठक, सभा, गोष्ठी, सेमिनार जस्ता ठूला कार्यक्रम गर्ने स्थानको आवश्यकता महसुस गरेर उक्त भवन बनाइएको हो। भवन निर्माणका लागि सङ्घीय योजना कार्यान्वयन ईकाइमार्फत् २०७५ सालमा निर्माण कम्पनीसँग सम्झौता गरेर काम अगाडि बढेको थियो।

सोही अनुसार २०७६ सालदेखि उक्त सिटी हल निर्माणको काम सुरु भएको थियो।२८ करोड खर्च भएको उक्त भवन निर्माण २०७९ असारमै सम्पन्न भएको सङ्घीय योजना कार्यान्वयन ईकाइ कार्यालय धनगढीले जनाएको छ।  सिटी हलको रेखदेख निर्माण कम्पनीले एक जना चौकीदार राखेको भए पनि निर्माण भएको भवनमा भने ताला ठोकिएको छ। उक्त हलमा ९ सय जना अट्ने क्षमता रहेको अडिटोरियम हल, २ सय जना अट्ने क्षमताको सेमिनार हल, एक प्रदर्शनी कक्ष, एक अति विशिष्ट कक्ष, २ रियल्सन हल र अन्डरग्राउन्ड पार्किङ सहितको सिटी हल निर्माण भइसकेको छ ।