सामाजिक पहुँच बढाउँदै डंगौरा थारू समुदाय
2023/04/11, 12:13
 
ss

वंशीधर चौधरी अत्तरियाको स्माइल एभरेस्ट एकेडमीका प्रिन्सिपल हुन् । युथ एलाइन्स फर डेभलपमेन्ट ९याड० नामक गैरसरकारी संस्थाका प्रमुख पनि हुन् । उनी थारू भाषाको पहिलो दैनिक पत्रिका ‘पाहुरा’ का प्रकाशक पनि हुन् । उनी युवा सामाजिक अभियन्ता पनि हुन् ।

२०५७ मा कमैया मुक्त हुनुअघि उनका बुबा कैलालीको मालाखेतीमा एक जमिन्दारको घरमा कमैया थिए । कमैया मुक्ति भएपछि उनले पढ्ने मौका पाए । वंशीधरका एक भाइ खडक चौधरी कम्प्युटर इन्जिनियर बनेका छन् । वंशीधरले आफ्नो संस्थामार्फत ६ हजार बढी बालबालिकालाई छात्रवृत्तिमा पढाएका छन् । कञ्चनपुरको कृष्णपुर–२ का मायाराम चौधरीले अक्षर चिन्दैनन् । एक बिघा जग्गा अधियाँमा खेतीपाती गरेर उनले छोराछोरी हुर्काएका हुन् । तीन छोरा, एक छोरीलाई धनीरामले पढाए । एउटा छोरा शिक्षक, अर्को छोरा प्रहरीमा सहायक निरीक्षक र कान्छो छोराले होटल मेनेजमेन्ट गरेर दुबईको एउटा पांँचतारे होटलमा जागिर गरिरहेको छ । छोरी स्मिता ल्याब असिस्टेन्ट पढ्दै छिन् । ‘२० वर्षअघि र अहिलेको तुलना गर्न सक्दैन,’ धनीराम भन्छन्, ‘कमैया जीवन सम्झँदा यस्ता दिन आउलान् भनेर कल्पनासम्म गरेको थिएन ।’

उनी कमैया मुक्ति हुंँदा कैलालीको भजनीमा जमिन्दार कहांँ आफ्ना बुवासंँगै कमैयां थिए । ‘म भन्दा कान्छा दुई भाइ सानैमा दाङ लमहीका एकजना जमिन्दारले लगेका हुन् अहिलेसम्म सम्पर्कमा छैनन्, कमैया मुक्ति हुँंदा मेरा दुई छोरा जन्मीसकेका थिए,’ उनले भने, ‘मुक्तिपछि कञ्चनपुरका बिभिन्न कमैया शिविर हुंँदै उनी कृष्णपुर २ आइपुगेपछि स्थानीयको जग्गा अधिंया वनाएर छोरा छोरी हुर्काएको हुं ।’

वंशी र मायाराम जस्ता मुक्तकमैया परिवारका ब्यक्ति मात्र होइन डेढदशक अघिसम्म निर्वाहमुखी कृषिमा मात्र निर्भर पश्चिम तराइका भूमीपूत्र डंगौरा थारु समुदायले छोटो अवधिमा सामाजिक, राजनैतिक, आर्थिक र शैक्षिक क्षेत्रमा ठूलो फड्को मारेको छ । सहरी क्षेत्र आसपास मात्र होइन ग्रामिण क्षेत्रमा वसोवास गर्दै आएका डंगौरा थारू समुदायमा निकै परिवर्तन आएको छ । रहनसहन, खानपिन, शिक्षा, राजनीति, समाजिक क्रियाकलाप र आर्थिक रुपमा यो समुदाय लयमा फर्किन थालेको छ । माटो र काठका घरको सट्टा गाउंँगाउँमा पक्की घर देख्न सकिन्छ ।

विगतको जस्तो थारू गाउँ पुग्नेबित्तिकै देखिने दृश्य अहिले देखिँदैन । सरसफाइ, व्यवस्थित पशुपालन, चिटिक्क परेका घर, ९ नबज्दै बालबालिका विद्यालय र काम गर्नेहरू काम गर्न निस्कन्छन् । आफ्नो टोलमा सुधार समिति बनेका छन् । परम्परागत रूपमा गाउँको नेतृत्व गर्ने भलमन्सा पनि अधिकांश पढेलेखेका युवा छन् । ‘थारूभित्रै रहेका सामन्तहरूको पनि अन्त्य भएको छ,’ कञ्चनपुरको बेदकोटका एक भलमान्सा हरि चौधरी भन्छन्, ‘समुदायको पछिल्लो पिँढी शिक्षित भएपछि संस्कृतिका नाममा थोपरिएका विकृति हटेका छन् जसले गर्दा आर्थिक उन्नति पनि हुन थालेको छ ।’ घरमूली सुध्रिए परिवार सुध्रिन्छ, परिवार सुध्रिए समुदाय र समाज सुध्रिन्छ भन्ने कुरा पढेलेखेको नयांँ पुस्ताले बुझेका कारण डंगौरा थारू समुदाय आफ्नो आधुनिक लयमा फर्कन थालेको पनि उनले बताए ।

हुन पनि घर बनाउने मिस्त्री, काठका काम गर्ने कारपेन्टर, साइकल, मोटरसाइकल, अटो मोबाइल क्षेत्रका मेकानिक, गाडी चालक, मोबाइल पसलदेखि विभिन्न प्राविधिक काममा यो समुदायका युवाको बाहुल्य छ । आर्थिक रूपमा बढी फाइदा हुने हरेक क्षेत्रमा थारू युवाको बाहुल्य रहेको देखिन्छ । यति मात्र होइन, दुई दशकयता हुर्किएको पुस्ता शैक्षिक र राजनैतिक क्षेत्रमा पनि निकै अगाडि आएको छ ।

‘२०५७ पछिको पुस्ता निर्वाहमूखी कृषि पेसाभन्दा माथि उठेर आर्थिक रूपमा सक्षम बन्न थालेको छ,’ सुदूरपश्चिमका चर्चित पत्रकार अविनाश चौधरी भन्छन्, ‘कमैया परिवारका युवा मात्र नभई समग्रमा थारू समुदायमा आर्थिक रूपमा क्रान्ति नै सुरु भएको छ ।’ निर्माण क्षेत्रमा थारू समुदायको कब्जाजस्तै भएको बताउँदै अविनाशले भने, ‘सुदूरपश्चिमका पहाडी जिल्ला र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भइरहेका सरकारी विकास निर्माणका काममा ८० प्रतिशतभन्दा बढी थारू समुदायका कामदार र मिस्त्री छन् ।’ यसबाहेक शैक्षिक क्षेत्रको रोजगारीमा पनि पछिल्लो समय थारू समुदायका युवा प्रशस्त देखिएका छन् । वैदेशिक रोजगारीभन्दा देशभित्रै सीप सिकेर थारू युवाका कारण कुनै समय खानलाउन पनि समस्यामा रहेको यो समुदाय विस्तारै समृद्धितिर लम्किएको उनले बताए ।

एभरेस्ट एकेडेमीका प्रिन्सिपल वंशीधर पनि विद्यालय शिक्षा र उच्च शिक्षा अध्ययन गर्ने क्रम बढेसंँगै थारू समुदाय परिवर्तन भएको बताउँछन् । ‘१५ वर्ष अघिसम्म ७० प्रतिशत विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर हुन्थे तर अहिले झन्डै ९० प्रतिशत बालबालिका विद्यालय जान्छन्,’ उनले भने, ‘एउटा पिँढी शिक्षित भयो भने सबै पिँढी सुध्रन्छ भनेजस्तै पछिल्लो समय थारू समुदायको युवापुस्ता सामाजिक हस्तक्षेप हुने गरी अगाडि बढिरहेको छ ।’

थारू समुदायका बालबालिकाको सरकारी तथ्यांक त छैन तर विभिन्न गैरसरकारी संस्थाहरूको तथ्यांकअनुसार विद्यालय शिक्षामा देखिएको पहुँच उत्साहजनक छ । आफूले ११, १२ कक्षासम्म बिहान साँझ रिक्सा चलाएर पढेको सम्झना गर्दै वंशीधर भन्छन्, ‘कम्तीमा २० वर्षअघि हामीले जसरी पढ्नका लागि दुःख गर्‍यौं त्यो अवस्था अहिले छैन ।’ सरकारी र गैरसरकारीस्तरमा दिइएका विभिन्नखाले सीपमूलक तालिम लिएपछि यो समुदायले आर्थिक रूपमा आत्मनिर्भर हुन थालेपछि बालबालिकाको शिक्षा क्षेत्रमा सहज पहुँच भएको पनि उनले बताए ।

‘आर्थिक अभावकै कारण विद्यालय शिक्षा लिन नसक्ने थारू समुदायमा धेरै कम परिवार होलान्,’ प्रिन्सिपल चौधरीले भने, ‘आर्थिक कारणले विद्यालय शिक्षा र उच्च शिक्षा अध्ययन गर्न नसक्नेहरूका लागि सहयोगका थुप्रै विकल्प पनि छन् ।’ कैलाली र कञ्चनपुरका अधिकांश प्राविधिक काममा रहेका थारू युवा पहाडमा पनि सहज व्यवसाय गरिरहेका छन् । कुनै समय पहाडी समुदायबाट शोषणमा परेका उनीहरू अहिले त्यहाँका हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्ने अवस्थामा पुगेका छन् ।