भारतबाट १२ दिनमा २४ हजार बढी नेपाली भित्रिए, नाम र ठेगाना मात्र टिपेर बिना परिक्षण उद्धार गरिदैं
2020/05/27, 5:53
 
korona

भारतका विभिन्न शहरबाट १२ दिनयता २४ हजार ३ सय १५ जना नेपाली भित्रिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर गएकाहरू आउने क्रम अझै जारी छ ।
कोरोना भाइरस संक्रमणको जोखिमसँगै नेपाल र भारत दुवैतर्फ लागू गरिएको लकडाउनका कारण कामका लागि भारत गएका हजारौं नेपाली उतै अलपत्र परेका थिए ।

उनीहरूलाई स्वदेश ल्याउन नेपाल भारत सीमा जोडिएका नाकाहरू खुला गरिएको छ । सीमा क्षेत्र तथा भारतको विभिन्न क्वारेन्टाइनमा रहेका नेपालीहरूलाई भित्र्याउन उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए । उनीहरूमध्ये केहीलाई स्थानीय तहले क्वारेन्टाइनमा राख्न लगेका छन । सयौं नाकामै खुला चौरमा बस्न बाध्य छन ।

भारतबाट आउनेमा महिला, केटाकेटी हुँदा उनीहरूले झन बढी कष्ट भोग्नु परिरहेको छ । २ जेठदेखि अहिलेसम्म त्रिनगर नाकाबाट २४ हजार ३१५ जना नेपाली भित्रिएका छन । जसमा २ जेठमा ३८३, ३ गते ४०३, ७ गते ८३४, ८ गते दुई हजार ४९८, ९ गते दुई हजार ११, १० गते एक हजार ९५९, ११ गते तीन हजार ९६४, १२ गते दुई हजार २२७, १३ गते पाँच हजार २४२ र १४ गते चार  हजार ७९४ जना छन् । घर फर्कनेहरूको चापका कारण नाकामा भीडभाड बढेपछि उनीहरूलाई स्वास्थ्य परीक्षण विनै प्रवेश गराइएको छ ।

नेपालमा हालसम्म संक्रमित देखिएका धेरै जसो भारतबाट फर्किएकाहरू रहेपनि स्वास्थ्य परिक्षण बिना नै उनीहरूलाई प्रवेश गर्न दिँदा महामारीको जोखिम झन धेरै बढेको छ । त्यहाँ खटिएका सुरक्षाकर्मीहरुले रजिष्टरमा नाम र ठेगाना मात्र टिपेर उनीहरूलाई भित्याईरहेका छन् ।