बजेट निकासा नहुँदा डडेल्धुरामा अस्पताल बन्न सकेन मेडिकल कलेज
2023/04/11, 12:19
 
ss

बजेट निकासा नहुँदा डडेल्धुरा अस्पतालमा मेडिकल कलेज सञ्चालन हुन सकेको छैन ।सरकारले गत माघमा डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा सञ्चालन गर्ने निर्णय भए पनि बजेट निकासा नहुँदा मेडिकल कलेज सञ्चालन हुन नसकेको सुदूरपश्चिम विश्वविद्यालयका उपकूलपति अम्मराज जोशीले बताए ।

‘मेडिकल कलेज सञ्चालनमा आए सुदूरपश्चिम प्रदेशका विद्यार्थीलाई चिकित्सा शिक्षामा पहुँच विस्तार हुनेछ भने प्रदेशभरि विशेषज्ञ उपचार सेवामा पहुँच पुग्नेछ,’ उपकूलपति जोशीले भने, ‘मेडिकल कलेजका लागि विनियोजित रकम हालसम्म निकासा नभइसकेकाले सम्माननीय प्रधानमन्त्रीज्यूमा त्यसतर्फ निर्देशनका लागि अनुरोध गर्दछु ।’

आइतवार सम्पन्न विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा उपकूलपति जोशीले सभामा उपस्थित कूलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष बजेट निकासाका लागि आग्रह गरेका छन् । उनका अनुसार आर्थिक वर्ष २०७९/ ८० मा विनियोजित ४० करोड रुपैयाँ हालसम्म निकासा हुन नसकेको हो । मन्त्रिपरिषद्को माघ १० गते बसेको बैठकले डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत रहने गरी मेडिकल कलेजका रूपमा अगाडि बढाउने निर्णय गरेको थियो।

मेडिकल कलेजका लागि स्वास्थ्य तथा जनसंख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भइसकेको उपकूलपति जोशीले बताए । दीक्षान्त समारोहमा सहभागी पधानमन्त्री दाहालले डडेल्धुरामा बन्ने मेडिकल कलेजका सञ्चालनका लागि सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे ।  ‘डडेल्धुरा मेडिकल कलेज सञ्चालन गर्ने सरकारले निर्णय गरिसकेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएर यहाँका जनताको स्वास्थ्यमा पहुँच विस्तार गर्नेतर्फ सरकार लाग्नेछ ।’