सुदुरपश्चिम सरकारले वितरण गरेका अधिकांश एम्बुलेन्स धमाधम फिर्ता हुँदै
2023/04/11, 12:21
 
ss

सुदुरपश्चिम प्रदेश सरकारले स्थानिय तहमा बितरण गरेका एम्बुलेन्स धमाधम फिर्ता हुँन थालेका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले अत्याधुनिकका नाममा वितरण गरेका अधिकांश बिग्रेर थन्किएका एम्बुलेन्स धमाधम फिर्ता हुँन थालेका छन्।

सामाजिक विकास मन्त्रालयले २०७६ कात्तिक १७ गते अर्थात तीन वर्षअघि गाउँपालिका, अस्पताल र स्वास्थ्य चौकीलाई १६ वटा एम्बुलेन्स वितरण गरेको थियो । तर तिमध्ये अधिकांश बिग्रेर थन्किएका छन् । बिग्रिएर थन्किएका एम्बुलेन्सहरु पालिकाहरुले धमाधम प्रदेश सरकारलाई फिर्ता गर्न थालेका छन् । केहीले एम्बुलेन्स फिर्ता गरिसकेका छन् भने केहीले फिर्ता गर्ने तयारीमा छन्। केही अस्पताल परिसरमा सिमित बनेका छन्।

बैतडीको पञ्चेश्वर र डिलाशैनी गाउँपालिकाले एम्बुलेन्स फिर्ता गरेका छन् । पञ्चेश्वर गाउँपालिकाले कार्यपालिकाको बैठकबाट निर्णय गरी एम्बुलेन्स मन्त्रालयलाई फिर्ता पठाएको हो। मर्मत गर्न नसकेर डेढ बर्षदेखि धनगढीमा थन्किएको बैतडीको डिलासैनी गाउँपालिकाको रुद्रेश्वर स्वास्थ्य चौकीको एम्बुलेन्स प्रदेश सरकारलाई फिर्ता गर्ने निर्णय गरिएको गाउँपालिकाका सूचना अधिकारी नविनबहादुर रानाले बताए । मर्मतका लागि एक वर्ष धनगढीमा थन्किएको पञ्चेश्वर गाँउपालिकाको एम्बुलेन्स पनि प्रदेश सरकारलाई फिर्ता गरिएको छ ।

पञ्चेश्वर गाँउपालिकाका सूचना अधिकारी मनोज जोशीले कुलाउ स्वास्थ्य चौकीलाई दिएको उक्त एम्बुलेन्स सञ्चालन गर्न सक्ने अवस्था नभएपछि मर्मत सम्भार गरेर प्रदेश सरकारलाई फिर्ता गरिएको बताए । मोटरसाइकललाई ठक्कर दिएपछि करिब एक वर्ष यता एम्बुलेन्स धनगढीमा थन्किएको थियो । बझाङको केदारस्युँ गाउँपालिकास्थित रायल प्राथमिक स्वास्थ्य चौकीको एम्बुलेन्स पनि प्रयोग बिहीन नै रहेको छ । गाँउपालिकाका सूचना अधिकारी लेखराज रावलले गाँउपालिकाले एक वर्षदेखि थन्किएको एम्बुलेन्स प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको बताए । उनले एम्बुलेन्स बिग्रिरहने समस्या भएपछि मर्मत खर्च व्यहोर्न समस्या भएका कारण पालिकामै थन्किएको र मर्मतपछि खर्चिलो धेरै रहेको बताए । कतीबेला बिरामीलाई अस्पताल लैजाँदा बाटोमै बिग्रिर्दा समस्या भैरहेकोेले गाँउसभाकै निर्णयले प्रदेश सरकारलाई फिर्ता पठाउने गरेको बताए ।

यस्तै छविस पाथिभेरा गाँउपालिकाका सूचना अधिकारी हरिचन्द्र कठायतले मटेना स्वास्थ्य चौकीमा रहेको अत्याधुनिक भनिएको एम्बुलेन्स प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारीमा रहेकोे बताए । उनले हस्तान्तरण गरिएपछि दुई पटक मात्र चलेको एम्बुलेन्स करीव तीन वर्षदेखि वडा कार्यालय अगाडि थन्किएको बताए । सो एम्बुलेन्स जिल्ला अस्पताललाई दिने निर्णय गरेकाले अस्पतालले लिन नमान्दा प्रदेश सरकारलाई एम्बुलेन्स फिर्ता गर्ने निर्णय गरेको उनले बताए । बाजुराको बुढीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र नाथलेटाटे स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको एम्बुलेन्स पनि प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको बताए । यस्तै डडेल्धुराको परशुराम नगरपालिकास्थित जोगबुढा अस्पतालमा रहेको एम्बुलेन्स भने पालिका भित्र सीमित बनेको छ।

अस्पतालका डा।जितेन्द्र चौधरीले ग्रामिण सडक र लामो दूरीमा उक्त एम्बुलेन्स सञ्चालनमा समस्या हुने हुँदा पालिका भन्दा बाहिर एम्बुलेन्स जान सक्ने अवस्थामा नरहेको बताए । लगातार सडक बिग्रिदाँ एम्बुलेन्सको मर्मत रकम तिर्न नसकेको उनले बताए । डडेल्धुराको नवदुर्गा गाउँपालिकाले नवदुर्गा स्वास्थ्य चौकीमा प्रयोगबिहीन बनेको एम्बुलेन्स प्रदेश सरकारलाई फिर्ता गरिसकेका बताएको छ ।ग्रामिण कच्ची सडकमा गुड्न नसक्ने भएपछि एम्बुलेन्स प्रदेश सरकारलाई फिर्ता गरेको बताइएको छ । दार्चुलाको नौगाड गाउँपालिकास्थित खार स्वास्थ्य चौकीलाई दिइएको एम्बुलेन्स दुई बर्षदेखि थन्किएको छ । एम्बुलेन्स लगातार बिग्रिरहने भएकोले मर्मत खर्च जुटाउन समस्या भएपछि गाउँपालिकाले मर्मत खर्च व्यहोर्न नसकेर एम्बुलेन्स दुई वर्षदेखि थन्काइएको हो ।

डोेटीको जिल्ला अस्पताललाई उपलब्ध गराएको एम्बुलेन्स प्रदेश सरकारलाई फिर्ता भएको छ । उक्त एम्बुलेन्स चलाउन सक्ने अवस्था नभएकोले प्रदेश सरकारलाई फिर्ता गरिएको अस्पतालका प्रमुख निराजन श्रेष्ठले बताए । प्रदेश सरकारले बितरण गरेको एम्बुलेन्स जिल्ला अस्पताल अछामले प्रदेश सरकारलाई नै फिर्ता गरिसकेको अस्पतालका प्रमुख भुवन जिसीले बताए ।उता अछामको बान्नीगढी जयगढ गाउँपालिकाको बान्नीगढी स्वास्थ्य चौकीलाई वितरण गरेको एम्बुलेन्स स्वास्थ्य चौकी आसपासमा मात्रै चल्ने गरेको गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदले बताए । दार्चुलाको हिकिला स्वास्थ्य चौकीलाई दिएको एम्बुलेन्स भने सञ्चालनमा रहेको दुहुँ गाउँपालिकाले जनाएको छ । कञ्चनपुरको महाकाली अस्पताललाई हस्तान्तरण गरिएको एम्बुलेन्स पनि थन्किएको छ। बारम्बार बिग्रिदा मर्मत गर्नै नसकिने भएपछि एम्बुलेन्स थन्क्याईएको अस्पतालका प्रमुख डा। अर्जुन भट्टले जानकारी दिए । यस्तै जिल्ला अस्पताल अछामले पनी एम्बुलेन्स फिर्ता गरिसकेको छ ।

कैलालीको धनगढीस्थीत सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिएको एम्बुलेन्स अस्पताल परिसरमा सीमित बनेको छ । पटक पटक बिग्रिएको एम्बुलेन्स मर्मतमा निकै रकम खर्च भैसकेको अस्पतालले जनाएको छ। अस्पताल परिसर भित्रै प्रयोगमा रहेको मेडिकल सुपरीटेण्डेट डा। हेमराज पाण्डेयले बताए। बाहिर तथा टाढा लैजान कोही एम्बुलेन्स चालक मान्दैनन। एकातिर एम्बुलेन्सको स्पिड कम छ । टाढाको रुटमा समय धेरै लगाउने र खर्च धेरै र सुबिधायुक्त नभएको बताइएको छ। दार्चुलाको हिकिला स्वास्थ्य चौकीलाई दिएको एम्बुलेन्स भने सञ्चालनमै रहेको दुहुँ गाउँपालिकाले जनाएको छ।

यस्तै अछामको बान्नीगढी जयगढ गाउँपालिकाको बान्नीगढी स्वास्थ्य चौकीलाई वितरण गरेको एम्बुलेन्स स्वास्थ्य चौकी आसपासमा मात्रै चल्ने गरेको र आम्दानी भन्दा खर्च बढी गरिरहेको गाउँपालिकाकाले जनाएको छ । गाँउसभाबाट प्रदेश सरकारलाई फिर्ता गर्ने योजना रहेको गाउँपालिकाकाले जनाएको छ ।चालकहरुले प्रदेश सरकारले वितरण गरेको एम्बुलेन्स ब्रेक नलाग्ने, मोड्न कठिन, स्पिड कम हुनुका साथै बिरामीका लागि सहज र आरामदायी नभएको गुनासो रहेको छ । तर प्रदेश सरकारले भने ती एम्बुलेन्सहरु अत्याधुनिक सुबिधा युक्त भएको दावी गर्दै आएको छ। सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी भुवन जोशीले भने अहिले सम्म एउटा एम्बुलेन्स मात्रै मन्त्रालयमा फिर्ता भएको दाबी गरे।