कैलालीको अत्तरियामा रहेको मालाखेती अस्पतालमा नवजात शिशुसहित सुत्केरी महिलाको तीन दिनदेखि शव छ। चिकित्सकको लापरबाहीले शिशुसहित सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले शव नबुझेका हुन्।
सोमवार बिहान गोदावरी नगरपालिका वडा नम्ब २ कडायत टोल बस्ने लक्ष्मी भट्टराई र उनको नवजात शिशुको अस्पतालमा मृत्यु भएको थियो। उनीहरुको शव तीन दिनदेखि अस्पतालमा रहेको हो। मालाखेती प्रहरीका अनुसार बुधवार अत्तरिया क्षेत्र शान्त छ। सोमवार र मंगलवार दिनभरि उक्त क्षेत्र तनाबग्रस्त थियो।
पीडित पक्ष र अस्पताल प्रशासनको पटक पटक छलफल भएको छ। उनीहरुको बिचमा सहमति भएको छैन। अस्पताल प्रशासन र पीडित पक्षको बिचमा सहमति नभएपछि छानबिनका लागि समिति समेत गठन गरिएको छ। समितिलाई एक हप्ताको समय दिइएको छ। तर पीडित पक्षले समितिको प्रतिवेदन नआएसम्म शव नउठाउने अडान लिएका छन्।
मृतकका श्रीमान शिवराज भट्टराईले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाही नभएसम्म शव नउठाउने बताउदै आएका छन्। उनले अस्पतालको लापरबाहीका कारण शिशु र श्रीमतीको मृत्यु भएको दाबी गर्दै आएका हुन्। पीडित परिवारले क्षतिपूर्तिको माग समेत गर्दै आएका छन्। अस्पताल प्रशासनलेसमेत घटनाको छानबिन हुने बताएको छ।
जिल्ला प्रशासन कार्यालय, कैलालीका प्रशासकिय अधिकृत शिवराज जोशीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिमा सेती प्रादेशीक अस्पतालका दुई जना चिकित्सक, स्वास्थ्य निर्देशनालयका एक जना कर्मचारी र एक जना पीडित पक्षबाट सदस्य छन्।