प्रदेश सभामा प्रतिपक्षको  अवरोधले बजेट आएको १६ दिन बित्दा पनि छलफल भएन
2020/07/01, 6:26
 
sansad

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमाथि प्रदेश सभामा छलफल सुरु हुन सकेको छैन । प्रतिपक्षको  निरन्तर अवरोधका कारण  प्रदेश सभा सञ्चालन हुन नसकेपछि बजेट आएको १६ दिन बित्दा पनि छलफल हुन नसकेको हो । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधले १० असार यता दुई वटा बैठक अवरुद्ध भएका छन् भने तय गरिएका दुई वटा बैठक स्थगित भएका छन् ।

बजेटमाथिको छलफलका लागि १० असारमा बोलाइएको पहिलो बैठक सुरु भए लगत्तै प्रतिपक्षका प्रदेश सभा सदस्यहरूले आ–आफ्नो सिटबाट उठेर विरोध जनाएपछि अवरुद्ध भएको थियो । त्यसको दुई दिनपछि १२ असारमा भएको बैठक पनि प्रतिपक्षको विरोधले अवरुद्ध भएको थियो । प्रतिपक्षीले अवरोध गर्ने पूर्वसूचना पाएपछि १४ र १६ गते बोलाइएका बैठक सूचना टाँस गरेर स्थगित गरिएका छन् ।

दुवै दलले धनगढीमा संयुक्त पत्रकार सम्मेलन गरेर सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि ठोस कार्यक्रम नल्याएसम्म सदन चल्न नदिने बताएका छन् । सरकारले रातो किताब छाप्न नसकेकाले १० असार अघि बजेटमाथिको छलफल तय गरिएको थिएन ।

प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले कोरोना रोकथामका लागि सरकारले कुनै पनि कार्य गर्न नसकेको आरोप लगाए । पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनमा बसेकाहरूलाई परीक्षण विनै घर पठाउन नहुने माग आफूहरूले गरेको उनले बताए ।