सुदूरपश्चिममा पार्टी कमजोर भएपछि भीम रावललाई फकाउँदै एमाले
2023/04/17, 12:28
 
सुदूरपश्चिममा पार्टी कमजोर भएपछि भीम रावललाई फकाउँदै एमाले

धनगढी - नेकपा एमालले पूर्वउपाध्यक्ष डा. भीमबहादुर रावललाई पार्टी काममा फर्काउने गरी संवाद प्रक्रिया अगाडि बढाएको छ । यसअघि दशौँ महाधिवेशनमा केपी ओलीसँग अध्यक्षमा पराजित भएपछि जिम्मेवारीबाहिर रहेका रावललाई काममा फर्काउने गरी एमालेको वार्ता टोलीले छलफल अगाडि बढाएको हो ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलस्थित ललितपुरमा उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको वार्ता टोलीले रावलसँग संवाद गरेको छ । रावललाई पार्टी काममा फर्काउने गरी संवाद गर्न १८ चैतमा एमालेको केन्द्रीय सचिवालय बैठकले पौडेलको नेतृत्वमा सचिव लेखराज भट्ट र स्थायी समिति सदस्य कर्णबहादुर थापा रहेको तीन सदस्यीय टोली गठन गरेको थियो ।

रावलले अध्यक्ष ओली, उपाध्यक्ष पौडेल वा महासचिव शंकर पोखरेलले औपचारिक रूपमा बोलाएर छलफल गरेको अवस्थामा मात्र आफ्ना असन्तुष्टि र पार्टी कामका विषयमा कुराकानी गर्ने अडान राख्दै आएका थिए । रावलको त्यही अडानलाई ध्यानमा राख्दै एमालेले संवादका लागि पौडेलको नेतृत्वमा अलग्गै कमिटी बनाएको थियो ।

पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको सुदूरपश्चिमको अनुगमनकर्ता तोकिएका उपाध्यक्ष पौडेल सुदूरपश्चिममा जाँदा रावलसँग टकराव उत्पन्न भएको थियो । त्यसपछि एमालेले उनलाई पार्टीको जिम्मेवारी ल्याउने उद्देश्यले संवाद सुरु गर्ने निर्णय गरेको थियो ।

स्थायी कमिटी सदस्य थापाले कुराकानी सकारात्मक दिशामा अगाडि बढेको जानकारी दिँदै पार्टीको बैठकले जिम्मेवारीबारे निर्णय लिने बताए । रावललाई दशौँ महाधिवेशनलगत्तै अघिल्लो वर्षको २६ मंसिरमा बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले केन्द्रीय सल्लाहकार कमिटी सदस्य मनोनीत गरेको थियो । तर, आफूलाई सोध्दै–नसोधी टिके प्रथाबाट मनोनीत गरिएको भन्दै रावलले जिम्मेवारीसम्बन्धी पार्टीको निर्णयलाई अस्वीकार गरेका थिए ।

लामो समयदेखि जिम्मेवारीबाहिर रहेका रावलमाथि संसदीय दलको बैठकमा अनुपस्थित हुने गरेको, संसद्मा संसदीय मूल्य–मान्यताविपरीत निरन्तर ह्विप उल्लंघन गरेको एमालेको आरोप छ । सोही कारण कैलालीबाट सर्वसम्मत सिफारिस भए पनि अध्यक्ष ओलीले रावललाई टिकट दिन अस्वीकार गरेका थिए ।

सुदूरपश्चिममा राम्रो प्रभाव राख्ने रावललाई जिम्मेवारीविहीन बनाउँदा र टिकट नदिँदा ४ मंसिरको चुनावमा पार्टीले क्षति व्यहोरेको भन्दै कार्यकर्ता तहले प्रश्न उठाइरहेपछि नेतृत्वमाथि उनलाई उपयुक्त जिम्मेवारी दिनुपर्ने दबाब पर्दै आएको छ ।